धनगढी, ११ असार २०८३ । कैलालीको गोराङ्गेमा रहेको सुदूरपश्चिम पृतना तालिम शिक्षालयको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक नेपाली सेनाको मृत्यु भएको छ । एकजना छर्रा लागेर घाइते भएका छन् ।
कैलालीको मोहन्याल गाउँपालिका–७ को जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा हुँदा हिमाल विक्रम विष्टको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
उनकाअनुसार विष्टको लम्कीस्थित लालरत्न अस्पतालमा उपचारका क्रममा दिउँसो मृत्यु भएको हो । सोही घटनामा सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको तिमिल्सिनाले बताए ।
जोशीलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ । बिहीबार बिहान सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका ग्रिनेड पड्काउने क्रममा घाइते भएका थिए । विस्फोटबाट उनको दाहिने हातको हत्केला तथा शरीरका विभिन्न भागमा छर्रा लागेको थियो ।






