झापा, ६ असार २०८३ । झापाको कन्काई नगरपालिका–८ स्थित बिरिङ खोलामा डुबेर एक ५ वर्षीया बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा कन्काई नगरपालिका–१ निवासी कुलबहादुर रसाइलीकी छोरी सोनिया रसाइली रहेकी छन्। कन्काई नगरपालिका–८ स्थित बिरिङ खोला आसपासबाट शनिबार (आज) बिहान १० बजेदेखि हराएकी सोनियाको खोजीका लागि उनकी आमा अमृता रसाइलीले अस्थायी प्रहरी पोस्ट दुर्गापुरमा जानकारी गराएकी थिइन्।
जानकारी प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक दीर्घबहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो। खोजीका क्रममा कन्काई–८ स्थित बिरिङ खोलाको पानीमा बालिका मृत अवस्थामा फेला परेकी थिइन्।
घटनाको जानकारीपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक रुपेश राईको नेतृत्वमा सोको (SOCO) टोलीसहितको प्रहरी टोली घटनास्थल पुगेको थियो।
प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।






