काठमाडौँ, १८ जेठ २०८३ । स्वास्थ्य बीमा बोर्डले आकस्मिक उपचार आवश्यक पर्ने बिरामीलाई निजी सेवा प्रदायक स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।
बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेन्डेन्ट डा. पवन कुमार साहद्वारा सोमबार जारी सूचनाअनुसार निजी स्वास्थ्य संस्थाहरूलाई यसअघि पठाइएको निर्णय कार्यान्वयनका क्रममा आकस्मिक प्रकृतिका बिरामीलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्न सकिने स्पष्ट पारिएको हो ।
सूचनामा आकस्मिक बिरामीको उपचारका क्रममा आवश्यक परे भर्ना (आईपीडी) तथा शल्यक्रिया (ओटी) समेत गरी उपचार पद्धति अनुसार सेवा प्रदान गरेर डिस्चार्ज गर्न सकिने उल्लेख गरिएको छ। यस व्यवस्थाले आकस्मिक अवस्थामा रहेका बिरामीले आवश्यक उपचार सेवा प्राप्त गर्न सहज हुने विश्वास गरिएको छ ।
यद्यपि सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवा अन्तर्गत उपचार प्रदान गरी स्वास्थ्य बीमा दाबी पेस गरिएमा त्यस्ता दाबीहरूको भुक्तानी नहुने बोर्डले जनाएको छ। साथै यस्ता कार्यमा संलग्न भए प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी पनि दिइएको छ ।
बोर्डले आम सेवाग्राहीलाई समेत सूचनाको पूर्ण पालना गर्न, स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक दबाब सिर्जना नगर्न तथा तोकिए बमोजिमको उपचार सेवा प्राप्त गरी सहयोग गर्न आग्रह गरेको छ ।
स्वास्थ्य बीमा बोर्डले आकस्मिक बिरामीको उपचारलाई निरन्तरता दिँदै स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त स्पष्टीकरण जारी गरेको जनाएको छ ।






