Online Bichar
आइतबार, जेठ १७, २०८३ | Sunday, May 31, 2026

झापा, १७ जेठ २०८३ । झापाको दमक नगरपालिका–१० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि फेला परेको महिलाको शवको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार जेठ १६ गते बिहान करिब ११ बजे रतुवा खोलाको पुलमुनि बगिरहेको पानीमा एक महिलाको शव फेला परेको थियो। शवको तत्काल पहिचान खुल्न नसकेपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो।

अनुसन्धानका क्रममा मृतक दमक नगरपालिका–८ बसन्त टोल निवासी नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भनिने रमा तिवारी रहेको खुलेको प्रहरीले जनाएको छ। मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले जेठ १७ गते शवको सनाखत गरेका हुन्।

प्रहरीका अनुसार रमा तिवारी यहि जेठ १३ गते अन्दाजी ९ः३० बजे घरबाट आफूखुसी निस्किएकी थिइन्। त्यसयता उनी घर नफर्किएको परिवारले जनाएको छ।

प्रारम्भिक विवरणअनुसार शव केही दिनदेखि पानीमा रहेको अवस्थामा फेला परेको थियो। घटनाको वास्तविक कारण खुल्न बाँकी रहेको र मृत्युको कारणबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया