Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

बुटवल, २० फागुन । सहकारी भन्नेवित्तिकै वचत संकलन र ऋण लगानी गरेर नाफा कमाउने संस्थाको झल्को धेरैको मानसपटलमा आउने गर्छ । तर, रुपन्देहीमा भने एउटा फरक खालको सहकारी छ, जसले व्यापारयोग्य जडिबुटी खेतीलाई आधार मानेर सहकारी चलाएर नमूना सहकारीका रुपमा फड्को मार्दैछ ।

सहकारी आफैले जडिबुटी खेती गर्छ, शेयर सदस्यलाई पनि जडिबुटी खेती गराएको छ, उत्पादित जडिबुटी सहकारीले नै खरिद गरेर प्रशोधन गरी विभिन्न औषधि उत्पादन गर्छ । आफ्नै चिकित्सालय सेवा सञ्चालन गरेको छ, जहां उपचार गर्न आउनेलाई आफ्नै औषधि बेच्छ, अरु औषधि बजारमा पनि बेच्छ । जडिबुटी प्रशोधन गरी औषधि लगायत अन्य उत्पादनका लागि प्रशोधन उद्योग संचालन गरेको छ । अहिले यो सहकारीले आफ्ना उत्पादन विदेश निर्यात गर्ने तयारीमा छ ।

यस्तो सहकारी हो

त्र्यमबकम जडिबुटी सहकारी संस्था लि. । सहकारी संस्थाका अध्यक्ष डा. बद्री गौतमको दावी अनुसार जडिबुटी खेतीसहित आयुर्वेद चिकित्सालय सेवा र प्रशोधन उद्योग समेत भएको यस्तो सहकारी नेपालकै एक मात्र हो । जडिबुटी वैज्ञानिक भनेर कहलिएका डा.गौतमको अग्रसरतामा २०५८ सालमा रुपन्देही सदरमुकाम भैरहवाामा स्थापना भएको सहकारीमा अहिले एकहजार ८ जना शेयर सदस्य छन् । ४ करोड शेयर पुंजी रहेको सहकारीले ४ करोड ५२ लाख रुपैयां मूल्यको ब्यापारयोग्य जडिबुटीका बिज,विरुवा विदेशबाट आयात गरेर खेती गरेको छ ।

सहकारीका सात सय जना सदस्यले थोरैधेरै जडिबुटी खेती गरेका छन् । सहकारी आफैले र सदस्यहरुले कवच,अश्वगन्धा,त्र्यम्बखर,लेमनग्रास,पामारोजा,चित्रक, जेठी मधु,निषेध,शिवालिक,तुलसी लगायतका करिब डेढसय प्रजातिका औषधिजन्य जडिबुटी खेती गरिरहेका छन् । सहकारीले आफ्ना सदस्यले उत्पादन गर्ने जडिबुटी उचित मूल्यमा खरिद गरिदिने ग्यारेन्टी गरेको छ । जसले गर्दा सदस्यहरु निश्चिन्त भएर जडिबुटी खेतीमा संलग्न छन् ।

एक सय ८० जना महिला शेयर सदस्यले रुपन्देहीको छपियामा १० बिघा खेतमा सामूहिक जडिबुटी खेती गरेका छन् । जग्गा नहुनेले करेसाबारीमा र थोरै हुनेले १० धुर,एक कठ्ठा भएपनि जडिबुटी लगाएर राम्रो आम्दानी लिन सफल भएका अध्यक्ष गौतम बताउंछन् ।

जडिबुटी खेतीबाट मनग्ये आम्दानी गर्न सफल एक सदस्य हुन् बाबुराम यादव । उनले चार कठ्ठामा कवच, ८ कठ्ठामा अश्वगन्धा,११ बिघामा त्र्यम्बखर र २ बिघामा लेमनग्रास खेती गरेका छन् । एकपटक लगाएपछि पाँच सात वर्षसम्म नियमित आम्दानी लिन सकिने भएकाले जडिबुटी खेतीबाट राम्रो आयआर्जन भएको यादवले बताए । कवच प्रति किलोग्राम ३ हजार, अश्वगन्धा प्रतिकिलोग्राम ५ हजार,त्र्यम्बखर तेलप्रति किलोग्राम ३० हजार रुपैयां र लेमनग्रास एक कठ्ठाको २५ हजार रुपैयांमा विक्रि हुने यादवले बताए ।

अश्वगन्धाको एउटै विरुवाबाट वर्षमा ५ हजारका दरले आम्दानी हुने यादव बताउंछन् । ‘अश्वगन्धा खेतीबाट मात्रै खर्च कटाएर वर्ष दिनमा ३५ लाख आम्दानी गर्छु’—यादवले भने—‘सबै जडिबुटीबाट हिसाब गर्दा वर्षमा एक करोडसम्म कमाउंछु ।’ सहकारीले जडिबुटीको उत्पादन बढाउन २५ जनाको आयआर्जन समूह गठन गरी विना धितो कर्जा दिएर पनि जडिबुटी खेती गराउन थालेको छ ।

सहकारीको यो अभियानमा कामना सेवा विकास बैंकले सहकार्य गरेको छ । बैंकले ४५ जनालाई एक लाख ५० हजारका दरले कर्जा दिएको छ । सहकारीको प्रशोधन उद्योगबाट अहिले खाद्य औषधिसहित १७ थरि आयुर्वेदिक औषधिहरु उत्पादन भइरहेको अध्यक्ष डा. गौतमले बताए ।

सहकारीद्वारा संचालित चिकित्सालयले वर्ष दिनमा १० हजार बढीलाई स्वास्थ्य परीक्षण गरी उपचार गर्ने गरेको छ । चिकित्सालयमा तीनजना आयुर्वेद चिकित्सा विशेषज्ञ डाक्टरले सहकारीका शेयर सदस्य र अन्य विरामीको स्वास्थ्य उपचार गर्छन् । शेयर सदस्यको उपचार निशुल्क हुन्छ । जसमा एकजना महिला रोग विशेषज्ञ, एकजना पञ्चकर्म विशेषज्ञ र एकजना अष्टांग आयुर्वेद विशेषज्ञ छन् ।

जडिबुटी उत्पादन र प्रशोधनका क्षेत्रमा सराहनीय काम गरेकाले सहकारीले सरकारबाट यसै वर्ष एक करोड रुपैया अनुदान समेत पाएको छ । उक्त रकमले रुपन्देहीको हरैयामा प्रशोधन उद्योग स्थापना गर्दैछ । अहिले उद्योगको प्लान्टहरु जडान कार्य चलिरहेको छ । नयां प्रशोधन उद्योग सञ्चालनमा आएपछि सहकारीले गुलाफको तेल, हर्बल फान्ट जस्ता औषधिजन्य र सुगन्धित तेल विदेश निर्यात गर्ने प्रकृयामा छ । ‘चीनमा सुगन्धित गुलाफको तेल र भारतमा औषधिजन्य तेल बिक्रीका लागि दुबै देशका व्यवसायीसँग समझदारी भइसकेको छ’—अध्यक्ष डा. गौतमले भने—‘सातामा ३ टनसम्म गुलाफको तेल चीनमा र मासिक ४ टन त्र्यम्बखर तेल भारतमा निर्यात गर्छौं ।’

गुलाफको तेल प्रति किलोग्राम ६ लाख रुपैयाँमा बिक्री हुने गौतम बताउँछन् ।

सहकारीले आफ्नो कार्यक्षेत्र देशका ७७ वटै जिल्लामा विस्तार गर्न अनुमतिका लागि सरकारसंग निवेदन दिइसकेको र सम्बन्धित मन्त्रालय सकारात्मक देखिएको सहकारीका संचालक सदस्य बालनरसिंह गुरुङले बताए ।

देशभरि कार्यक्षेत्र विस्तार गर्न पाए पाँच वर्षभित्र ४० लाखजनालाई रोजगारी सिर्जना गर्ने महत्वाकांक्षी लक्ष्य सहकारीले लिएको छ । सरकारले जडिबुटी उत्पादन र निर्यातमा देखिने नीतिगत वाधा,अवरोध फुकाइदिनुपर्ने र रासायनिक सांगठानिक गुण नभएका जडिबुटी (बतासे जडिबुटी) खेतीलाई रोक्नुपर्ने सहकारीका अध्यक्ष डा. गौतमको सरकारसँग आग्रह छ ।

कैयौं व्यक्ति र समूहले रासायनिक सांगठानिक गुण नभएका (व्यापार र निर्यात गर्न अयोग्य) जडिबुटी खेती गरेर किसानलाई भुलभुलैयामा पार्दा व्यापारयोग्य र निर्यातजन्य जडिबुटी खेती गर्ने संस्था र व्यक्तिहरु समस्यामा पर्ने गरेको डा. गौतमको सरकारसँग गुनासो छ ।

तपाईको प्रतिक्रिया