काठमाडौं, ७ जेठ २०८३ । नेपाल मेडिकल काउन्सिलमा दर्ता भएकाबाहेक अरू कसैले नामको अगाडि ‘डाक्टर’ वा ‘चिकित्सक’ लेखे जेल जानुपर्ने भएको छ । काउन्सिलले शून्य सहनशीलता नीति अपनाउँदै कडा चेतावनी जारी गरेको हो ।
नामको अगाडि अवैध रूपमा ‘डाक्टर’ लेख्ने स्वास्थ्यकर्मी वा अन्य व्यक्तिले १५ दिनभित्र साइनबोर्ड, प्रेस्क्रिप्सन र टिकटक, फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालबाट सो उपाधि हटाइसक्नुपर्नेछ ।
‘विदेशी वा स्वदेशी विश्वविद्यालयको प्रमाणपत्रमामा ‘डाक्टर’ लेखिएकै भरमा नेपालमा बिरामी जाँच्न र एलोप्याथिक औषधि लेख्न पाइने छैन,’ काउन्सिलले भनेको छ ।
१५ दिनपछि काउन्सिलले सामाजिक सञ्जाल र स्थलगत रूपमा ‘डिजिटल ट्रयाकिङ’ गर्नेछ । नियम मिचेको पाइएमा तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँ जरिबाना वा दुवै सजायको मागदाबीसहित कारबाहीका लागि प्रहरीकोमा पठाइने जनाइएको छ ।





