Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौँ , २० फागुन । बाराक ओबामादेखि एलन मस्कसम्मका विश्वका सर्वाधिक शक्तिशाली व्यक्तित्वहरुले आफ्नो किताब पढ्ने रुचीबारे धेरैपटक बताइसकेका छन् । के दैनिक एक घण्टा पढ्ने यही बानीलाई नै उनीहरुको सफलताको रहस्य मान्न सकिन्छ ?

स्पेस एक्सका प्रमुख एलन मस्क विश्वका सर्वाधिक धनी र सफल व्यक्तित्वमा पर्छन् । गत फेब्रुअरी २०१८ मा मात्र एलनले असम्भवलाई सम्भव गरेर देखाए । केबल किताब र फिल्ममा मात्र सीमित कुरालाई वास्तविकतामा परिणत गर्दै उनले सबैलाई चकित पारेका हुन् । उनको ‘फल्कन हेभी रकेट’ ले अन्तरिक्षयात्री नभएर पहिलोपटक टेस्लाको रातो टेस्ला रोडस्टर स्पोट्र्स कारलाई अन्तरिक्षमा पुर्याएको हो जसको ड्राइभर सिटमा एउटा मान्छेको पुत्ला राखिएको थियो ।

यसरी उनको सो परीक्षण वास्तवमा आइज्याक एसिमोभको ‘साइन्स फिक्सन’ किताबमा आधारित थियो । आफूले किशोरावस्थामा पढेको सो किताबप्रतिको अत्यधिक मोहकै कारण उनले ५० हजार वर्षपछिको भविष्यबारे लेखिएको कल्पनात्मक कथालाई वास्तविकतामा बदलिदिएका हुन् । ड्राइभरसहितको सो कार अब आगामी १ करोड वर्ष भन्दा अधिक समयसम्म अन्तरिक्ष वरपर उडिरहनेछ ।

यसरी प्रविधिलाई आजको अवस्थासम्म पुर्‍याउन किताबले ठूलो योगदान पुर्‍याउँदै आएको पाइएको छ । जस्तै पहिलो सफ्टवेयरको विकास ‘अर्थ’ भन्ने किताबबाट प्रेरित थियो भने इन्टरनेटको उत्पतिमा पनि ‘स्नोक्रयास’ ले योगदान दिएको थियो । यसरी पढ्ने बानीले नै अनगिन्ती नयाँ विचारहरुलाई जन्म दिएको छ । यस किसिमका सयौँ घटनाले पनि किताब कति शक्तिशाली छ भन्ने स्पष्ट देखाउँछ । यसबारेमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले पनि किताब पढ्नुले नै आफूलाई नयाँ पहिचान र आफ्नो विश्वासबारे भन्ने सिकाएको उनी बताउँछन् ।

यसरी महान लक्ष्य नबोकेका साधारण मानिसलाई पनि किताब पढ्ने बानीले उनीहरुको करिअरलाई बढावा दिन, तनाव कम गर्न, मस्तिष्कको क्षमता वृद्धि गराउन र सहानुभूतिपूर्ण भावना जगाउन मद्दत गर्ने गरेको छ । यता हरेक किताबबाट प्राप्त हुने ज्ञानगुनका कुराहरुले पनि कहीँ न कहीँ मानिसको जीवनमा सुधार ल्याउन उल्लेखनीय भूमिका खेलि नै रहेको हुन्छ । यसकारण पनि हामी सबैले प्रत्येक दिन कम्तीमा पनि एक घण्टा किताब पढ्ने बानी बसाल्नैपर्छ ।

व्यापारिक क्षेत्रले परम्परागत रुपमै सद्भावनालाई किनारा लगाउँदै आएको देखिन्छ भने आत्मविश्वास र महत्वपूर्ण निर्णय लिन सक्ने क्षमतालाई धेरै महत्व दिइने गरिएको छ । तर २०१६ मा डेभलपमेन्ट डाइमेन्सन इन्टरनेस्नलले गरेको एक अध्ययनअनुसार जो मानिस सहानुभूतिपूर्ण भावना राख्छ ऊ अरु भन्दा ४० प्रतिशत अगाडि रहन्छ ।

यसअघि २०१३ मा पनि सामाजिक मनोविश्लेषक डेभिड किडले कस्तो गतिविधिले मानिसमा सहानुभूतिपूर्ण भावना बढाउनेछ भन्नेबारे धेरै विचार गरेका थिए । जसपछि आजीवन पाठकको अनुभवबाट उनले कथा नै त्यस्तो स्थान भएको बताए जहाँ हामी दैनिक अरुका अनौठा अनुभवसँग जोडिने गर्दछौँ । यसरी न्यूयोर्कस्थित एक सहकर्मीसँग मिलेर किडले पढ्नुले वास्तवमै आफ्ना भन्दा धेरै फरक विचार र चाहनाहरुलाई बुझ्न मद्दत गर्छ कि गर्दैन भन्नेबारे अनुसन्धान गर्ने निर्णय गरेका हुन् । यो सहानुभूतिसँग मेल नखाएपनि दुवै क्षमताको एकअर्कासँग निकट सम्बन्ध रहेको बताइन्छ । सो कुरा पत्ता लगाउनकै लागि उनीहरुले अध्ययनमा सहभागीहरुलाई सबै किसिमका प्रख्यात काल्पनिक साहित्यका अंशहरु पढ्न लगाएका हुन् । त्यस्तै केहीलाई भने कल्पनारहित किताब या केही पनि नपढ्न भनिएको थियो । यसपछि तिनको बौद्धिक क्षमतामा कत्तिको सुधार आयो भनि परीक्षण गरिएको हो । यसका लागि उत्कृष्ट लेखाइ भएका पुरस्कारका हकदार रहिसकेका रचनाहरु चुनिएको हो ।

र यसबाट आश्चर्यजनक नतिजा प्राप्त भएको हो । जसमा प्रख्यात रचना पढ्नेहरुले सबै दिमागी परीक्षणमा राम्रो स्कोर ल्याएका हुन् भने केही नपढ्नेले चाहिँ कम अंक प्राप्त गरे । यसरी अनुसन्धानकर्ताहरुले सिधा रुपमा दिमागको क्षमता मापन गर्न नसकेपनि दैनिक पाठकहरु वास्तवमै भावनात्मक हुने स्पष्ट भएको किडले दाबी गरेका हुन् ।

अर्को व्यक्तिले कस्तो महसुस गरिरहेको छ भन्ने थाहा हुने मान्छेले सो जानकारी सकारात्मक कुरामै उपयोग गर्ने किडको भनाइ छ । सहकर्मी र कर्मचारीसँगको सम्बन्ध सुधार्नुका साथै सहानुभूतिले बैठकहरुलाई उत्पादक बनाउन पनि मद्दत गर्दछ । अनुसन्धानका अनुसार मानिसहरु त्यस्तो समुहमा बढी उत्पादनशील हुन्छन् जहाँ उनीहरुले स्वतन्त्र रुपमा असहमति जनाउन सक्छन् ।

के सल्लाह दिन्छन् शौखिन पाठकहरु ?

यसरी पढ्नुका फाइदाबारे स्पष्ट भइसकेपछि यो तथ्याङ्कमा पनि नजर लगाउनै पर्ने हुन्छ – २०१७ मा बेलायती मिडिया रेगुलेटर अफकमले १ हजार ८ सय ७५ मानिसहरुमा गरेको एक सर्वेक्षणमा बेलायतका अधिकांश वयस्कहरुले दैनिक २ घण्टा ४९ मिनेट मोबाइलको स्क्रिन हेरेर बिताउने गरेको पाइएको छ । यस्तोमा दिनमा कम्तिमा पनि एक घण्टा पढ्छु भनेर आँट गर्ने मान्छेले आफ्नो स्क्रिन समयलाई एक तिहाइले घटाउनु पर्ने हुन्छ । त्यसैले किताब पढ्ने बानी बसाल्न शौखिन पाठकहरुले सबैलाई यस्ता उपाय सुझाएका छन् ।

१. जबरजस्ती होइन आफ्नै मनले पढ्ने

क्रिस्टिना छिपुरिसीले केबल चार वर्षको उमेरदेखि नै आफूमा पढ्ने बानी विकास गराइन् । यसैबाट नयाँ किसिमको उत्साह प्राप्त भएपछि उनले घरका एकएक किताब पढेर सिध्याइन् । तर स्कुल जान थालेपछि जब उनले अनिवार्य रुपमा पढ्नु पर्ने भयो, तब उनलाई सो कार्य प्रति घृणा विकास भयो र अब कहिल्यै पनि किताब नपढौँ जस्तो महसुस भएको उनी बताउँछिन् । यसरी किताबप्रतिको विकर्षण उनी २० वर्षको हुँदासम्म हटेको थिएन । तर बिस्तारै उनलाई पढ्ने मानिसहरु धेरै अगाडि पुगिसकेको आभास भयो अनि किताबका महत्वपूर्ण जानकारीले उनको करियरमा समेत धेरै फरक पार्नेछ भन्ने उनले थाहा पाइन् ।

यसपछि उनले फेरि पढ्ने बानी विकास गरिन् र ‘द सीईओ लाइब्रेरी’ भन्ने साइट खोलिन् जसमा राजनीतिज्ञदेखि व्यापारी लगायत विश्वका सर्वाधिक सफल व्यक्तिहरुले पढेका किताबबारे जानकारी दिइएको छ । त्यसैले पनि पढ्नुलाई अनिवार्य कामका रुपमा नलिएर त्यसप्रति मनैदेखि रुचि राख्नुपर्ने उनी बताउँछिन् ।

२. आफ्ना लागि उपयुक्त शैली खोज्ने

पढनुपर्छ भनेर जहाँत्यहीँ माटो किताब बोेकेर हिँड्नुपर्छ भन्ने छैन । आफूलाई सजिलो हुनेगरी उपयुक्त शैली अपनाएमा नै पढ्ने बानी छिटै विकास हुन सक्ने किड बताउँछन् । उनले भनेका छन्, “म दैनिक गाडीमा दुई घण्टा ओहोरदोहोर गर्नुपर्छ ।” यस्तोमा सबैतिर किताब समातेर हिँड्नु भन्दा आफूलाई मोबाइलमा पढ्न अत्यधिक सहज हुने गरेको उनले बताए । यति मात्र नभएर उनले कतिपय अवस्थामा ‘अडियो बुक’ को समेत प्रयोग गर्ने गरेको बताएका छन् ।

३. असम्भव किसिमका लक्ष्य नराख्ने

सफल व्यक्तिहरुको बानी अपनाउनु साधारण व्यक्तिका निम्ति कठिन हुन सक्छ । ठूलो उपलब्धि हासिल गरेका दुई व्यक्तित्वहरुसँगको अन्तर्वार्तामा फेब्रिस ग्रिन्डाले आफूले वर्षमा एक सयवटा किताब पढेर सिध्याउने गरेको बताए । ग्रिन्डाले एक लाख डलरको ऋणमा एउटा व्यवसाय सुरु गरेका थिए जुन पछि गएर ३ करोड डलर बराबरको भएको हो । त्यसैगरी अर्का उद्यमी नभिन जैनले भने आफू किताब पढ्नकै लागि दैनिक बिहान ४ बजे उठेर तीन घण्टा पढ्ने गरेको बताएका हुन् । तर हामीले पनि यस्तै किसिमका तरिका अपनाउनुपर्छ भन्ने छैन ।

यसबारेमा एक सफल मार्केटर एवम् शौखिन पाठक एन्ड्रा जहरियाले यस्तो भनेकी छन्, “दैनिक पढ्ने बानी विकास गर्न पहिले थोरैदेखि सुरु गर्नुपर्छ । त्यसैले अवास्तविक लक्ष्य राख्नुहुँदैन ।”

उनका अनुसार पहिलोपटक पढ्दा कुनै साथीसँग किताबको सिफारिस लिइ दिनमा दुईतीन पाना पढ्नु राम्रो सुरुवात हुनेछ । उनी भन्छिन्, “सबैले पढिरहेको किताबका पछि लागेर वर्षमा ६० वटा सिध्याउँछु भन्ने लक्ष्य राख्न आवश्यक छैन । मोबाइल र फोनका बुकहरु पढ्न वास्तवमै धेरै सजिलो हुन्छ किनकी तिनमा अब कति पाना बाँकी छ भन्ने सजिलै याद गरिँदैन ।”

४. धेरै संघर्ष गर्नु परेमा ‘५०’ को रुल

यो ‘रुल’ ले कुनैपनि किताब बीचैमा छाड्नुपर्ने बारे निर्णय लिन मद्दत गर्नेछ । यस अन्र्तगत ५० पाना पढ्दासम्म पनि किताबप्रति रुचि जागेन भने तुरुन्तै अर्कोतर्फ लाग्ने । यो तरिकाबारे सर्वप्रथम लेखिका तथा लाइब्रेरियन नान्सी पर्लले आफ्नो किताब ‘बुक लस्ट’ मा उल्लेख गरेकी हुन् ।

उनले विशेषगरी ५० वर्ष भन्दा माथिका पाठकलाई उनीहरुलाई आफ्नो उमेर एक सय वर्षबाट घटाउन र यसबाट प्राप्त अंक जति नै पाना पढेर किताबबारे निर्धारण गर्न भनेकी छन् । उनका अनुसाार हामी जति बूढो हुँदै जान्छौँ खराब किताब पढ्ने समय त्यति नै थोरै रहन्छ ।

यसरी फोनको स्क्रिनमा भएपनि दैनिक एक घण्टा पढ्ने बानी विकास गर्नैपर्छ किनकि संसारकै सबैभन्दा व्यस्त मानिसहरुले त किताब पढ्ने समय निकाल्न सक्छन् भने हामी किन सक्दैनौँ ?

बीबीसीबाट

तपाईको प्रतिक्रिया