Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पराजय भोग्नुमा ८ वटा कारण प्रमुख भएको निश्कर्ष निकालेको छ । राप्रपाको शुक्रबारसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले चुनावमा हारको ८ वटा प्रमुख कारण भएको जनाएको छ ।

सरकारमा राप्रपाको सहभागिताको सम्वन्धमा रहेको भ्रम चिर्न नसक्नु, कार्यकर्ताहरुमा पार्टी सरकारमा रहेको अनुभुति नहुनु, लोकतान्त्रिक गठबन्धन बलियो र प्रभावकारी नहुनु र लिखित रुपमा सम्झौता गरेअनुरुप कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभामा सिट नदिनु, प्रतक्ष्यतर्फ अत्यन्त न्यून उम्मेदवार उठाउनु, संविधान संशोधनबारे स्पष्ट अडान लिन नसक्नु, साधन श्रोतको अभाव रहनु, सिद्धान्तप्रति पार्टी नेतृत्व प्रतिवद्ध नरहेको भ्रम जनतामा पर्नु, कमजोर संगठनका कारण जनमतलाई भोटमा रुपान्तरण गर्न नसक्नु लगायतलाई चुनावी हारको कारण मानेको छ ।
पार्टीको अप्रत्याशित परिणाम आउनुको कारण र आधारका बारेमा विस्तृत अध्ययन र अनुसन्धान गरी भविष्यका लागि सुझावसहितको प्रतिवेदन तयार गर्न बैठकले डा. विष्णु भण्डारीको संयोजकत्वमा केन्द्रीय सदस्यहरु गोबिन्द खनिया, भक्ति सिटौला, चन्द्रेश्वर राय यादव, धनबहादुर बुढा, प्काश रिमाल, विजयलक्ष्मी सिंह र श्याम शाही सदस्य रहेको निर्वाचन समीक्षा तथा अध्ययन समिति गठन गरेको छ । राष्ट्रवादी तथा हिन्दुराष्ट्र पक्षधर शक्तिलाई कमजोर बनाउन राष्ट्रिय अन्तराष्ट्रिय शक्तिले षडयन्त्र गरेको र पार्टी फुटाएको राप्रपाले आरोप लगाएको छ । बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले पार्टीको नेतृत्व कमजोर भएको आवाज पनि उठाएका थिए ।

अध्यक्ष थापाले आवश्यक परे केही समय विश्राम लिने स्पष्ट पारेका थिए तर अध्यक्षको विकल्प खोज्नुभन्दा पनि कमी कमजोरीलाई सच्याएर जानु आजको खाँचो भएको प्रवक्ता रोशन कार्कीले जनाइन् । प्रतिनिधिसभामा कांग्रेसले राप्रपालाई चार सिट दिएको थियो भने प्रदेशमा पनि केही सिटमा चुनावी तालमेल भएको थियो, राप्रपाले झापा–३ मा बाम गठबन्धनसँग तालमेल गर्दा महामन्त्रीसमेत रहेका राजेन्द्र लिङ्देनले मात्र प्रतिनिधिसभामा निर्वाचन जिते तर प्रदेशसभामा कहीँ पनि जित्न सकेन ।

बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न समान विचारधारा भएका राजनीतिक दल र समूहलाई एकताका लागि राप्रपाले आव्हान गरेको छ । गत फाल्गुणमा राप्रपा र राप्रपा (नेपाल) बीच महाधिवेशनबाट पार्टी एकता भएपनि अहिले राप्रपा तीन भागमा विभाजन भएको छ । विभाजित राप्रपा र राप्रपा (प्रजातान्त्रिक) ले नै कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग चुनावी तालमेल गरेका थिए ।

बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष कमल थापाले चुनावको नतिजा स्वीकार गरेको बताए । थापाले वर्तमान सरकारबाट तत्काल राजीनामा दिनु अनैतिक भएको र अर्को सरकार बनेपछिमात्र सरकार छोड्ने बताए । बैठकले माघसम्ममा सबै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेलाको आयोजना गर्ने तथा फाल्गुणको दोस्रो सातामा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको केन्द्रीय अधिवेशन गर्ने निर्णय पनि गरेको छ । पार्टीको वैचारिक एवं सांगठनिक कार्यदिशा, रणनीति र कार्यक्रम तयार गर्न केन्द्रीय परिषद्को बैठक फाल्गुणको अन्तिम साता विरगञ्जमा बस्ने भएको छ ।

तपाईको प्रतिक्रिया