Online Bichar
आइतबार, जेठ ०३, २०८३ | Sunday, May 17, 2026

काठमाडौं, ३ जेठ २०८३ । नेपालमा उच्च रक्तचाप प्रभावितको संख्या दिनानुदिन बढ्दै गइरहेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार विश्वभर करिब १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन् । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयका अनुसार नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप रहेको छ ।

मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ‘विश्व उच्च रक्तचाप दिवस २०२६’ का अवसरमा उच्च रक्तचाप नियन्त्रण र रोकथामका लागि जनचेतना अभिवृद्धि गर्न अपिल जारी गरेको छ ।

नेपालमा कुल मृत्युको करिब ७० प्रतिशत हिस्सा नसर्ने रोगले ओगटेको सरकारको तथ्यांक छ । तीमध्ये मुटु तथा रक्तनलीसम्बन्धी रोगबाट मात्रै २७.३६ प्रतिशत मृत्यु हुने गरेको तथ्यांकले देखाएको छ । उच्च रक्तचापलाई यस्ता रोगहरूको प्रमुख जोखिम कारकका रूपमा लिइएको छ ।

नसर्ने रोगको सर्वेक्षण २०७६/७७ अनुसार नेपालका २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचापको समस्या रहेको छ । विश्व स्वास्थ्य संगठनका तथ्यांकअनुसार विश्वभर करिब १.४ अर्ब मानिस उच्च रक्तचापबाट प्रभावित छन् । चिन्ताको विषय उच्च रक्तचाप भएका प्रत्येक चारजनामध्ये एकजनाको मात्र रक्तचाप नियन्त्रणमा छ ।

किन भनिन्छ ‘मौन कारक’ ?

स्वास्थ्य विज्ञहरूका अनुसार, उच्च रक्तचापले प्रारम्भिक अवस्थामा प्रायः कुनै स्पष्ट लक्षण देखाउँदैन । धेरै मानिसलाई रोगको जानकारी नै नहुने भएकाले यसलाई ‘मृत्युको मौन कारक’ भनिन्छ । समयमै उपचार नभएमा यसले हृदयघात, मस्तिष्कघात, मिर्गौला रोग तथा अन्य गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छ ।

पछिल्लो समय अस्वस्थकर जीवनशैली, प्रशोधित तथा अत्यधिक नुनयुक्त खाना, शारीरिक निष्क्रियता, धुम्रपान, मद्यपान, मानसिक तनाव, वायु प्रदूषण र तीव्र सहरीकरणका कारण उच्च रक्तचापको जोखिम बढिरहेको मन्त्रालयले जनाएको छ ।

नियमित जाँच गर्न आग्रह

महाशाखाले ३० वर्षभन्दा माथिका सबै नागरिकलाई वर्षमा कम्तीमा एकपटक रक्तचाप जाँच गराउन आग्रह गरेको छ । साथै खानामा नुन र चिल्लो पदार्थको मात्रा घटाउने, ताजा फलफूल तथा तरकारीको सेवन बढाउने, दैनिक ३० देखि ४५ मिनेट व्यायाम गर्ने, धूम्रपान र मद्यपान त्याग्ने तथा पर्याप्त निन्द्रा लिन सुझाव दिइएको छ ।

उच्च रक्तचाप पहिचान भइसकेका बिरामीहरूले चिकित्सकको सल्लाहअनुसार नियमित औषधि सेवन गर्नुपर्ने र आफूखुसी औषधि बन्द नगर्न पनि मन्त्रालयले चेतावनी दिएको छ ।

नेपालको संविधानको धारा ३५ ले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै सरकारले नसर्ने रोग रोकथाम तथा नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

यस वर्ष ‘उच्च रक्तचाप नियन्त्रणमा सबैको साथ : जाँच गरौँ नियमित रक्तचाप, परास्त गरौँ मृत्युको मौन कारकु भन्ने मूल नाराका साथ दिवस मनाइँदै छ ।

 

तपाईको प्रतिक्रिया