जनकपुरधाम, १ जेठ २०८३ । सर्लाहीको हरिपुर नगरपालिका–५ मजुर्वास्थित कृष्ण इँटा उद्योगमा इँटा निकाल्ने क्रममा चाङ खस्दा तीन मजदुरको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय हरिपुरका अनुसार शुक्रबार साँझ करिब ६ बजे कौडेना बजार निवासी बिरेन्द्र चौधरीको कृष्ण इँटा उद्योगबाट इँटा निकाल्ने क्रममा पर्खाल खसेर मजदुरहरू पुरिएका थिए ।
मृत्यु हुनेहरूमा गोडैता नगरपालिका–७ रामवन निवासी ५० वर्षीय फिताई मन्सुर, गोडैता नगरपालिका–९ निवासी ३५ वर्षीय शम्भु राउत र भारतको लखिमपुर निवासी ३५ वर्षीय अंगद कुमार रहेको प्रहरी जनाएको छ ।
अस्पतालमा चिकित्सकले जाँच गर्दा उनीहरूलाई मृत घोषणा गरिएको थियो । त्यसैगरी मलंगवा नगरपालिका–७ निवासी ३२ वर्षीय तुलसी महतो र ५२ वर्षीय सत्यनारायण महतो घाइते भएका छन् ।
तुलसी महतोको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने सत्यनारायण महतोको स्थानीय क्लिनिक मजुर्वामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सर्लाही प्रहरीका अनुसार साँझ ६:३० जानकारी पाएपछि प्रहरी पुगेर तत्काल उद्धार गरी घाइतेहरूलाई प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो ।
घटनास्थलमा जेसीबीमार्फत थप खोज तथा पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।






