Online Bichar
आइतबार, बैशाख २७, २०८३ | Sunday, May 10, 2026

काठमाडौं, २७ वैशाख २०८३ । सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने घोषणा गरेको छ । आगामी वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म सञ्चालन हुने उक्त अभियानमा संघीयदेखि स्थानीय तहसम्मका सबै निकायलाई सक्रिय सहभागिताका लागि निर्देशन दिइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विशेष मार्गदर्शनअनुसार सरकारी कार्यालयहरूमा सरसफाइ मापदण्ड कार्यान्वयन गर्दै न्यून लागतमा अधिकतम प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्ने लक्ष्य राखिएको छ ।
यस अभियानको औपचारिक उद्घाटन वैशाख २८ गते बिहान ८:३० बजे वीर अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताको उपस्थितिमा हुने तय गरिएको छ ।

मार्गदर्शनमा सरकारी कार्यालयका सूचना बोर्ड, नागरिक वडापत्र र संकेत चिन्हहरू स्पष्ट र व्यवस्थित बनाउनुपर्ने, चर्किएका संरचना मर्मत तथा रंगरोगन गर्नुपर्ने, सेवा क्षेत्र र प्रवेशद्वार सफा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
त्यस्तै, शौचालयलाई दुर्गन्धरहित बनाउने, नियमित पानी र साबुनको व्यवस्था गर्ने, महिलामैत्री तथा अपाङ्गतामैत्री सुविधा सुनिश्चित गर्ने उल्लेख गरिएको छ ।

फोहोर व्यवस्थापनका लागि कुहिने र नकुहिने फोहोर छुट्याउन कम्तीमा दुई प्रकारका डस्टबिन अनिवार्य गरिएको छ भने खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ । कार्यालय परिसर वरिपरिको क्षेत्र, नाली, ढल तथा पार्किङ क्षेत्र सफा राख्नुपर्ने र अव्यवस्थित तार तथा पोस्टर हटाउनुपर्ने निर्देशन पनि दिइएको छ ।

अभियानलाई दिगो बनाउन प्रत्येक निकायमा सरसफाइ सम्पर्क व्यक्ति तोक्ने, नियमित सरसफाइ कार्यतालिका बनाउने र मासिक रूपमा स्व–मूल्यांकन गर्ने व्यवस्था गरिएको छ । अनुगमनको जिम्मेवारी सम्बन्धित निकाय प्रमुखलाई दिइएको छ ।
यो अभियान संघीय, प्रादेशिक तथा स्थानीय तहका कार्यालयसँगै सार्वजनिक शैक्षिक संस्थाहरूमा समेत लागू हुने सरकारको भनाइ छ ।

तपाईको प्रतिक्रिया