काठमाडौं, २७ वैशाख २०८३ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अब एउटै कसुरमा पाँचपटकभन्दा बढी कारबाहीमा पर्ने चालकको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) निलम्बन गर्ने भएको छ । आइतबार आयोजित एक कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं एसएसपी नवराज अधिकारीले पटक–पटक कारबाहीमा पर्ने चालकको लाइसेन्स नै निलम्बन गरिने बताएका हुन् ।
“पटक–पटक कारबाहीमा परिराख्ने चालकको लाइसेन्स अब निलम्बन हुन्छ । हामीले यो प्रक्रिया अघि बढाइसकेका छौँ,” एसएसपी अधिकारीले भने ।
कारबाहीमा परेकाहरूको रेकर्ड अनुसन्धानपछि हालसम्म ३१ सवारीचालकको लाइसेन्स निलम्बनका निम्ति यातायात व्यवस्था विभागमा पठाइएको छ । सुरुआती चरणमा उनीहरूको लाइसेन्स ६ महिनाका निम्ति निलम्बन गर्न सिफारिस गरिएको अधिकारीले बताए ।
ट्राफिक कार्यालको तथ्यांकानुसार, चालु आर्थिक वर्षको चैतसम्म तीन लाख ७३ हजार ५६२ सवारीसाधन कारबाहीमा परेका छन् ।
कसरी काम गर्छ ट्राफिक प्रहरी?
उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकानुसार, आर्थिक वर्ष २०८१/८२ सम्म कुल २० लाख १८ हजार ४३४ सवारीसाधन यातायात व्यवस्था कार्यालय ललितपुरमा दर्ता भएका छन् ।
यसरी दर्ता भएका मध्ये १६ लाख ५६ हजार ४८ वटा दुईपांग्रे, यात्रुवाहक सवारीसाधन ४६ हजार ८४४ छन् । दुई लाख ९६ हजार ८६७ चारपांगे्र र १८ हजार ६७५ इलेक्ट्रिक गाडी दर्ता भएका छन् ।
सवारीसाधन बढेसँगै ट्राफिक व्यवस्थापन जटिल बन्दै गएको छ । उपत्यकामा दर्ता भएबाहेकका सवारीसाधन समेत लाखौँको संख्यामा यहाँ गुड्ने गर्छन् । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कुल एक हजार ११३ जनाको दरबन्दी छ । उक्त जनशक्तिले नपुगेपछि कार्यालयले करिब ४०० जनालाई काजमा खटाएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरमा गरी ट्राफिक प्रहरीको कुल ७७ इकाइ (युनिट) राखिको छ । एक युनिटले २६ हजारभन्दा बढी सवारीसाधनको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।
एसएसपी अधिकारीका अनुसार, ट्राफिक प्रहरी दैनिक १० घण्टासम्म डिउटीमा खटिन्छन् । विभिन्न २८ स्थानमा २४ घण्टा नै ट्राफिक प्रहरी डिउटीमा रहँदै आएका छन् । दैनिक ३२६ स्थानमा चेकजाँच, ‘पिक आवर’मा ९७ ठाउँमा थप डिउटी र क्यूआरटी टिममा ६२ ट्राफिक प्रहरी खटाउने गरिएको छ ।
यस्तै, उपत्यकामा दैनिक ५६ स्थानमा ट्राफिक प्रहरीको रात्रिकालीन चेकिङ र ३६ ठाउँमा आकस्मिक चेकिङ पोस्ट राख्ने गरिएको छ ।
कति हुन्छ सवारी दुर्घटना ?
उपत्यकामा दुर्घटनामा परी दैनिक मानिसले ज्यान गुमाइरहेका हुन्छन् । चालु आर्थिक वर्षको चैतसम्मको तथ्यांकानुसार, ललितपुर, भक्तपुर र काठमाडौंमा गरी चार हजार ६३१ सवारी दुर्घटना भएका छन् ।
उक्त दुर्घटनामा परी १७४ जनाको मृत्यु भएको छ । १८६ जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार, ज्यान गुमाउनेमा १६ देखि ३५ वर्षसम्मका सबैभन्दा धेरै छन् । दुर्घटनामा परेर यो उमेर समूहका ८६ जनाले ज्यान गुमाएका छन् । ३६ भन्दा माथिका ८१ र १६ वर्षमुनिका सातजनाको मृत्यु भएको तथ्यांक प्रहरीसित छ ।
बढ्दो चोरीको शृंखला
उपत्यकाबाट सवारीसाधन चोरीको शृंखला समेत बढ्दो छ । आइतबार ट्राफिक प्रहरीले यसरी फेला पारिएका ६५ दुईपांग्रे सवारीसाधन सम्बन्धित धनीलाई बुझाएको छ । वैशाख एक महिनामा सवारीधनीको उजुरीका आधारमा ट्राफिक प्रहरीले उक्त साधन फेला पारेर बुझाएको हो । यसरी चोरी गरिएका मोटरसाइकलमध्ये एउटा ३५ लाख रुपैयाँ पर्ने समेत छ ।
चालु आर्थिक वर्षको चैतसम्म ट्राफिक प्रहरीले ५३४ वटा दुईपांग्रे सवारीसाधन फेला पारेको छ । यो आर्थिक वर्षमा उपत्यकाबाट सवारीसाधन हराएको भन्दै दुई हजार २६ जनाले निवेदन दिएका एसएसपी अधिकारीले बताए ।






