झापा, २७ वैशाख २०८३ । झापाको बाह्रदशीमा जंगली च्याउ खाँदा ११ जना बिरामी परेका छन्। बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीमा जंगली च्याउ खाँदा ११ जना बिरामी परेका हुन् ।
आईतबार (आज) बिहान करिब १० बजे स्थानीय तेजबहादुर खवासको घरमा जंगलबाट ल्याइएको च्याउ पकाएर खाँदा उनीहरू बिरामी भएको प्रहरीले जनाएको छ।
बिरामी पर्नेहरूमा ५० वर्षीया कमला माया खवास, ३१ वर्षीय डिल्ली खवास, २० वर्षीया अनिता खवास लगायत ८ जना बालबालिका रहेका छन्। च्याउ सेवन गरेपछि उनीहरूमा स्वास्थ्य समस्या देखिएपछि तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो।
प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि ९ जनालाई दमकस्थित बाल अस्पताल रिफर गरिएको छ।
बिरामीमध्ये दुई जनाको अवस्था मध्यम रहेको तथा अन्यको अवस्था सामान्य रहेको जनाइएको छ। घटनाबारे थप जानकारी संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।






