पर्वत, १९ फागुन । मोदी गाउँपालिका–२ देउपुरका टीकाराम तिमिल्सिनालाई यतिबेला माहुरीको खाना जुटाउनै मुस्किल परेको छ । उनले पालेका ७० घार माहुरीलाई खानेकुरा नभएपछि हिजोआज बिहानैदेखि चिनीको लेदो बनाएर दिन थालेका छन् ।

व्यावसायिक माहुरी पालेका जिल्लाभरका किसान माहुरीका लागि रस जुटाउन नसकेर चिनीको आहारा बनाइरहेका छन् । फागुन महीना गाउँका फाँटभरि तोरीका फूलले पहेँलै हुनुपर्ने भए पनि केही वर्षयता तोरी खेती गर्ने क्रम घट्दो छ । किसानले तोरी लगाउन छाडेपछि माहुरीपालक किसान समस्यामा छन् । तोरी लगाएर तेल निकाल्ने समयसम्मको झन्झट, उत्पादन घट्दो क्रममा हुनु र गाउँमा कृषि पेशा गर्ने जनशक्तिको कमीलगायतका कारणले तोरी खेती गर्ने किसान घटेका हुन् ।

माहुरीले तोरीको फूलको रसबाट यो सिजनमा उल्लेख्य मह निकाल्न सक्ने भए पनि तोरीको उत्पादन घटेसँगै माहुरीको चरन अभाव हुँदै गएको हो । बिहादी–१ बाच्छाका माहुरीपालक किसान उत्तम परियारले पाँच–छ वर्षयता हिउँदका पाँच महिना माहुरीलाई चरनको अभाव हुने गरेको बताए ।

विभिन्न प्रकृतिका विषादीको प्रयोगले माहुरी मर्ने र घारै रित्तिनै समस्या बढ्दै गएको उनले बताए । किसानले जैविक मल र विषादीको प्रयोग गरेर हिउँदे बाली लगाउने बेलासम्म माहुरी फष्टाउने गरेकामा हिजोआज उन्नत प्रजातिका बीउबिजन, रासायनिक मल, अनधिकृत विषादीलगायतका कारणले माहुरीको जैविक प्रणालीमा समेत गम्भीर असर परेको किसानले बताएका छन् ।

मोदी–२ कुँडुलेका हेमनाथ चापागाईंले घर वरपर एक दर्जन घारका माहुरीलाई पनि चरनको अभाव भएको बताए । कुँडुलेमा १४–१५ परिवारले व्यावसायिक माहुरी पालन गर्छन् । स्थानीयका अनुसार थाप्लाबारी, कुँडुले, कँडेनलगायतका गाउँ माहुरीका लागि उपयुक्त क्षेत्र छ ।

“चिनी खुवाएर पाल्दा दुःख धेरै हुन्छ, लगानी पनि बढ्छ”, बाच्छाका उत्तम परियारले भने, “लामो समय चिनी खुवाउनुप¥यो भने मह राम्रो हुँदैन ।”

कतिपय माहुरीपालक भने प्रविधिको अभावले पनि माहुरीबाट उल्लेख्य लाभ लिन सकिरहेका छैनन् । कृषि ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीका अनुसार जिल्लामा वर्षेनि करीब सात टन मह उत्पादन हुँदै आएको छ । पछिल्लो समय रासायनिक प्रकृतिका विषादीको प्रयोग, जमीन बाँझो राख्नेलगायतका कारणले माहुरीलाई गम्भीर असर परेको छ । रासस

तपाईको प्रतिक्रिया

Comments