Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

बीबीसी, १९ फागुन । बलात्कारपछि गर्भवती भएकी एक ११ वर्षीया किशोरीलाई अर्जेन्टिनी अधिकारीहरुले गर्भपतन गराउन अनुमति नदिँदा कलिलो उमेरमै आफ्ना अपराधीका बच्चालाई जन्म दिन बाध्य भएकी छन् । देशमा गर्भपतनलाई अवैध मानिएको भएपनि बलात्कारका घटना वा आमाको जीवन जोखिममा भएको खण्डमा अनुमति दिइने कानुन रहेको छ ।

तर गर्भपतनको हकदार भएपनि सम्बन्धित निकायहरुले उनको अनुरोध बेवास्ता गरि स्वीकृति दिन पाँच हप्ता ढिलो गरिदिएको थियो भने चिकित्सकहरुले पनि गर्भपतको प्रक्रिया अघि बढाउन नमानेको बताइएको छ । यस्तोमा गर्भवती भएको २३ हप्ता बितिसकेपछि मात्र तिनको शल्यक्रिया गरिएको हो । बच्चालाई जिवित बाहिर निकालिए पनि गम्भीर अवस्थामा रहेको बताइएको छ ।

यसरी उनले मात्र नभएर महिलावादी अधिकारीहरुले पनि यस घटनाबारे थाहा पाउनासाथै निकायसँग स्वीकृति माग गरेका थिए तर अधिकारीहरुले यसप्रति ध्यान नदिएकै कारण यस्तो दुःखद घटना भएको बताइएको छ । यसरी एउटी बालिकाका निम्ति निकायको सो लापरबाही अत्यन्तै क्रुर साबित भएको भनि देशभर नयाँ विवाद सुरु भएको हो ।

थुप्रैपटक आत्महत्याको प्रयासपछि ती किशोरीले मनोविज्ञान चिकित्सकसँग भनेकी हुन्, “त्यो मान्छेका कारण मेरो शरीरमा आएको यस चिजलाई म चाँडो बाहिर निकाल्न चाहन्छु ।”

तीन दिदीबहिनी मध्येकी सबैभन्दा कान्छी उनी आफ्नी हजुरआमाका ६५ वर्षीय पार्टनरबाट यौन दुर्व्यवहारको शिकार भएकी थिइन् । २०१५ मा उनलाई हजुरआमाको रेखदेखमा छाडिएको थियो । वास्तवमा गर्भपतन गराउनु अर्जेन्टिनामा अवैध मानिन्छ र सो कानुनको उल्लंघन गरेमा चार वर्षसम्मको जेल सजायँ तोकिएको छ ।

तर १९२१ को कानुनमा भने बलात्कारका घटनामा पीडितलाई अनुमति दिइने उल्लेख गरिएको छ ।

यसरी ६ महिना अगाडि मात्र महिलावादी समूहहरुले गर्भपतनलाई वैध बनाउन माग गर्दै ठूलो प्रदर्शन गरेका थिए । तर संसदमा भएको मतदानमा थोरै भोटका कारण सो कानुन पारित हुन सकेन । यस्तोमा यो घटनाले गर्भपतनको कानुन सम्बन्धी विवादलाई पुनः चर्चामा ल्याएको हो जसपछि अर्जेन्टिनाका महिलावादी कार्यकर्ताहरु फेरि आक्रोशित बनेको बताइएको छ ।

तपाईको प्रतिक्रिया