झापा, २३ वैशाख २०८३ । झापाको शिवसताक्षी नगरपालिका–९ चिल्लागढ धाम नजिक भित्री सडक खण्डमा कलेज बस दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन् ।
बिहान करिब ६ः१५ बजे ब्याङ्डाँडाबाट बिर्तामोडतर्फ जाँदै गरेको बिर्तामोड नगरपालिका–१ स्थित इको होम कलेजको प्र १–०१–००१ क १३१४ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिँदा दुर्घटना भएको हो ।
बसमा चालकसहित ५ जना सवार रहेकामा ४ जना सामान्य घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि बिर्तासिटी अस्पताल, बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा सहचालक बुद्धशान्ति गाउँपालिका–४ का २४ वर्षीय प्रकाश सिलुवाल रहेका छन् । उनको दुवै हात र खुट्टामा चोट लागेको छ । त्यस्तै, शिवसताक्षी–८ का १८ वर्षीय इसान पकवाल, १८ वर्षीय स्वभाग्य राई र १७ वर्षीय निसब भेटवाल घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य रहेको छ ।
दुर्घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।




