विराटनगर, २१ वैशाख २०८३ । मोरङको सुनवर्षी नगरपालिका–९ महतो टोलमा आफ्नै घरको कलमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
सोमबार दिउँसो करिब १२:५० बजे ५० वर्षीया मंगलीदेवी मेहतालाई घरको कलमा जोडिएको मोटरबाट विद्युत् चुहावट (बिजुली लिक) हुँदा करेन्ट लागेको मोरङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरीका निमित्त सूचना अधिकारी इन्स्पेक्टर लेखनाथ दाहालका अनुसार प्रारम्भिक अनुसन्धानमा मोटरबाट भएको करेन्ट लिकका कारण दुर्घटना भएको देखिएको छ ।
करेन्ट लागेर गम्भीर घाइते भएकी मेहता घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । घटनापछि इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीको नेतृत्वमा पुगेको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ ।






