काठमाडौं, २० वैशाख २०८३ । विद्यालय क्षेत्रमा देखिएको भर्ना, शुल्क तथा शैक्षिक क्यालेन्डरसम्बन्धी विवाद समाधानका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तह र सरोकारवालासँग छलफल गर्ने भएको छ ।
मन्त्रालयका अनुसार सोमबार मन्त्रालयमै काठमाडौं उपत्यकाका महानगरपालिकाका प्रमुख तथा सम्बन्धित निकायका प्रतिनिधिसँग बैठक बस्नेछ । बैठकमा विद्यार्थी भर्ना प्रक्रिया, मापदण्डविपरीत शुल्क लिने विषयमा देखिएको अन्योल, वार्षिक शैक्षिक क्यालेन्डर र आगामी रणनीतिबारे विस्तृत छलफल गरिने जनाइएको छ ।
छलफलमा शिक्षामन्त्री सस्मित पोखरेल, काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष तथा गृह मन्त्रालयका अधिकारीहरूको सहभागिता रहनेछ ।
संघीय सरकारले वैशाख १५ गतेबाट विद्यालय भर्ना अभियान सुरु गरी वैशाख २१ गतेदेखि पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको थियो । तर, काठमाडौं उपत्यकाका स्थानीय तहहरूले भने वैशाख ११ गतेदेखि भर्ना अभियान र वैशाख १५ गतेदेखि नै नियमित कक्षा सञ्चालन गर्न निर्देशन दिएका थिए । दुई तहका निर्देशनबीच असमञ्जस्य देखिएपछि समन्वयका लागि मन्त्रालयले यो छलफल आयोजना गरेको हो ।






