Online Bichar
आइतबार, बैशाख ०६, २०८३ | Sunday, April 19, 2026

काठमाडौं, ५ वैशाख २०८३ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह तथा वडाको संख्या र सीमाना हेरफेरसम्बन्धी कानुनको मस्यौदामा सुझाव माग गरेको छ।

मन्त्रालयले जिल्ला समन्वय समिति, स्थानीय तह तथा अन्य सरोकारवाला निकायलाई पत्राचार गर्दै राय–सुझाव उपलब्ध गराउन आग्रह गरेको हो। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ३, ५, ६, ७ र ८ मा संशोधन गर्ने तयारीस्वरूप सरकारले प्रारम्भिक मस्यौदा तयार पारेको जनाएको छ।

मस्यौदामा गाउँपालिका तथा नगरपालिका, वडाको संख्या तथा सीमाना हेरफेर, स्थानीय तह गाभ्ने व्यवस्था तथा नगरपालिकाको वर्गीकरण पुनरावलोकनका मापदण्ड समेटिएको छ।

यस विषयमा सहजीकरणका लागि जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई पनि बोधार्थ दिइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले सरोकारवाला सबै पक्षसँग प्राप्त सुझावका आधारमा मस्यौदालाई परिमार्जन गर्ने तयारी गरेको छ। राय–सुझाव मन्त्रालयको इमेलमार्फत तीन दिनभित्र पठाउन आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया