Online Bichar
शुक्रबार, बैशाख ०४, २०८३ | Friday, April 17, 2026

काठमाडौँ, ३ वैशाख २०८३ । नेपाल सरकारले देशभरका अस्पतालहरूमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि छुट्याइएका १० प्रतिशत निःशुल्क शय्याको अवस्था सार्वजनिक गर्ने उद्देश्यले नयाँ डिजिटल प्रणाली सञ्चालनमा ल्याएको छ। ‘फ्रि हेल्थ पोर्टल’ नाम दिइएको उक्त अनलाइन प्रणालीमार्फत अब सरकारी, निजी तथा सामुदायिक अस्पतालहरूमा कति निःशुल्क बेड खाली छन् र ती बेडमा कुन बिरामी उपचाररत छन् भन्ने विवरण रियल–टाइममा हेर्न सकिने व्यवस्था गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअघि कागजी रूपमा मात्र सीमित रहेको निःशुल्क शय्या व्यवस्थालाई प्रविधिमार्फत पारदर्शी र प्रभावकारी बनाउन यो प्रणाली लागू गरिएको हो। नेपालको संविधान २०७२ को धारा ३५ अनुसार प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने अधिकार सुनिश्चित गरिएको छ।

त्यस्तै, स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को प्रावधानअनुसार अस्पतालहरूले आफ्नो कुल शय्याको १० प्रतिशत निःशुल्क उपलब्ध गराउनुपर्ने व्यवस्था छ, जसलाई अब डिजिटल रूपमा नियमित अपडेट गर्नुपर्नेछ। पोर्टलमा बिरामीको भर्ना मिति, बेड नम्बर, विभाग तथा रोगसम्बन्धी विवरण समेत समावेश हुनेछन्। यसले पहुँचका आधारमा मात्र सेवा पाउने प्रवृत्ति घटाउने र लक्षित वर्गले सहज रूपमा उपचार पाउने अपेक्षा गरिएको छ।

सरकारले अस्पताल सेवामा उत्तरदायित्व बढाउन ‘अस्पताल सेवा सुधार कार्यविधि’ पनि लागू गरेको जनाएको छ, जसले स्वास्थ्यकर्मीको उपस्थिति र सेवा प्रवाहलाई समेत निगरानी गर्नेछ। आगामी दिनमा यो प्रणालीलाई एकीकृत ‘डिजिटल पेसेन्ट रेकर्ड सिस्टम’ सँग जोड्ने योजना रहेको मन्त्रालयले जनाएको छ। यसले बिरामीको उपचार इतिहास सुरक्षित रूपमा उपलब्ध गराउने र अनावश्यक रिफरल प्रणाली नियन्त्रण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया