Online Bichar
बिहिबार, बैशाख ०३, २०८३ | Thursday, April 16, 2026

सुरुङ्गा (झापा), २६ चैत २०८२ । फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र असिनासहितको वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । मुख्य खाद्यान्न तथा नगदेबालीका रूपमा रहेको मकै, तरकारी, फलफूलदेखि माहुरीपालनसम्म यसको असर परेको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार फागुन अन्तिम सातादेखि चैत दोस्रो सातासम्म मात्रै कृषि क्षेत्रमा तीन अर्ब १९ करोड २९ लाख ८२ हजार रुपैयाँ बराबरको क्षति भएको छ । त्यसमध्ये एक अर्ब ७२ करोड ७३ लाख ७४ हजार ६०० रुपैयाँ बराबरको बाली पूर्ण रूपमा नष्ट भएको छ ।

झापाका सबै १५ पालिकामा क्षति देखिए पनि मकैबाली सबैभन्दा बढी प्रभावित भएको छ । हावाहुरीसँगै परेको असिनाले बाली थिचिँदा उत्पादन नै नउठ्ने अवस्था पुगेको किसानहरूले बताएका छन् ।

सबैभन्दा बढी असर बाह्रदशी गाउँपालिकामा परेको छ, जहाँ करिब ७५ प्रतिशत मकैबाली नष्ट भएको छ । पालिकाका सात वडामा ८४० हेक्टर क्षेत्रफलमा लगाइएको मकैमा ठूलो क्षति पुगेको प्रमुख विष्टले जानकारी दिए । मकैमा मात्रै २७ करोड २७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ भने आंशिक क्षति ७५ करोड ५७ लाख रुपैयाँ नाघेको छ ।

वडागत विवरणअनुसार बाह्रदशी–२ र ३ मा सबैभन्दा ठूलो क्षति भएको छ, जहाँ ठूलो क्षेत्रफलमा लगाइएको मकै पूर्ण रूपमा नष्ट भएको छ । अन्य वडामा पनि उल्लेख्य क्षति पुगेको छ ।

मकैपछि तरकारी बालीमा पनि असर परेको छ । साना क्षेत्रफलमा खेती गरिएका तरकारी नष्ट हुँदा दैनिक आम्दानीमा निर्भर किसानहरू प्रत्यक्ष मारमा परेका छन् ।

प्रमुख विष्टका अनुसार असिनासहितको वर्षा र हावाहुरीको दोहोरो प्रभावले विशेषगरी फूल लागेको र गोडाइको अवस्थामा रहेका बालीमा अत्यधिक क्षति पुर्‍याएको हो ।

हाल स्थानीय तहहरूले प्रारम्भिक तथ्याङ्क सङ्कलन गरिरहेका छन् भने राहत तथा पुनस्स्थापनाका उपायबारे छलफल सुरु गरिएको जनाइएको छ ।रासस

तपाईको प्रतिक्रिया