Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं , २० पौष। पार्टीलाई क्लवको रुपमा चलाउँदै आएको आरेप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आफ्नो व्यवहार सुधार्दै आवश्यक परे पार्टीको नेतृत्वबाट बाहिर बस्न आफू तयार रहेको बताएका छन् ।

पार्टी भित्र जुनसुकै निर्णय गर्दा पनि एक्लै पावर देखाउँदै आएका उनी अरु कसैले विरुद्धमा बोले तत्काल कारवाही गर्न पनि पछि पर्दैनन् । सामान्य छलफल गरेजस्तो गर्ने र टुंगो नलागेको भन्दै थापा नै पार्टीको जिम्मा लिने गर्दथे । जनताको मतलव नगर्दा र आफूलाई नवराजा सम्झने परिपार्टीले थापा एकपछि अर्को कमजोर बन्दै गएका छन् ।

थापाले मकवानपुर –१ बाट प्रतिनिधिसभामा निर्वाचन हारे । केपी शर्मा ओली नेतृत्वको सरकारमा अरु कोही पनि मन्त्री हुन योग्य नभएको भन्दै थापा उपप्रधानमन्त्रीसहित परराष्ट्र र संघीय मामिला तथा स्थानीय विकासमन्त्री भएका थिए । बुधबारबाट काठमाडौंमा सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा अध्यक्ष थापाले पार्टीको नेतृत्व आफूले लिएको हुनाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा आएको परिणाम सन्तोषजनक नभएको भन्दै आत्मालोचना गरेका छन् । थापाले पछिल्लो समयमा पुष्पकमल दाहाल ‘ प्रचण्ड’ नेतृत्वको सरकारमा जानु पार्टीको गम्भीर भूल भएको जनाएका छन् ।

थापाले नेपाली कांग्रेसले नै राप्रपा विभाजन गराइदिएको र पार्टी फुटाउनेसँगै चुनावी तालमेल गर्नु पनि गलत भएको स्वीकारेका छन् । महामन्त्री राजेन्द्र लिङ्देनले समीक्षा बैठक सुरु भएको र अन्तिममा आउने निर्णयले पार्टीलाई मजबुत बनाउने दावी गरे । ‘यो बैठकमा पार्टीको समग्र पक्षका बारेमा विस्तृत छलफल र भावी योजनाका बारेमा अध्ययन र विश्लेषण गरिन्छ ’ लिङ्देनले भने ‘ पार्टी सञ्चालनको कार्यशैली, विचार र अवधारणाका साथै सैद्धान्तिक र व्यवहारिक पक्षको बारेमा छलफल केन्द्रित हुन्छ ।’ राप्रंपाको तर्फबाट प्रतिनिधिसभाको निर्वाचनमा झापा–३ बाट लिङ्देनले मात्र निर्वाचन जिते ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

पार्टी प्रवक्ता रोशन कार्कीले बैठकमा सबैलाई आफ्नो धारणा राख्ने अवसर भएको बताइन् । ‘ अब अहिलेको जटिल अवस्थामा कुनै कुरा लुकाएर र ढाँटेर गलतलाई पनि सही हो भनेर बस्नुभन्दा पनि प्रष्ट कुरा आओस् भन्ने नै अपेक्षा गरेको छ नेतृत्वले पनि ’ कार्कीले भनिन् ‘अध्यक्षले पनि हारको समीक्षा गर्ने र नयाँ वातावरण बनाएर जानुपरे आफूले केही समय विश्राम लिन पनि तयार रहेको बताउनुभयो ।’ पार्टीले हिजोको दिनमा गरेका गल्तीको समीक्षा गर्ने, संगठनलाई सुदृढ गरेर लैजाने, भावी योजना बनाउने, नीति र विचारमा देखिएका कमी कमजोरीलाई सुधार्दै जाने प्रवक्ता कार्कीले बताइन् ।
केन्द्रीय सदस्य बिक्रमबहादुर थापाका अनुसार अध्यक्ष थापाले बैठकमा सम्वोधन गर्दा निर्वाचनका मुखमा पार्टी विभाजन हुनु, जनतामाझ पार्टीका एजेण्डा बुझाउन नसक्नु, कार्यकर्ता परिचालन गर्न नसक्नु पार्टीको कमजोरी भएको बताएका थिए । प्रतक्ष्यतर्फ सबै ठाउँमा उम्मेदवारी दिन नसक्नु, प्रतक्ष्य उम्मेदवार नहुँदा समानुपातिकमा मत नआउनु, गठबन्धन व्यवहारिक हुन नसक्नु पनि पार्टी हारको कारण भएको थापाले प्रष्ट पारे ।

वर्तमान अवस्थामा पनि पार्टीले लिएको विचार र सिद्धान्त उपयोगी नै भएको अध्यक्ष थापाले विश्वास दिलाएका थिए । अध्यक्ष थापाले बाम गठबन्धनभन्दा लोकतान्त्रिक गठबन्धन उपयुक्त ठाने पनि मतदाताले मत नदिएपछि पार्टीले हार खाएको स्वीकारे ।

बाम गठबन्धनसँग तालमेल गरेको भए तुलनात्मक रुपमा बढी सिट आउने भएपनि माओवादीसँग विचार नमिल्ने भएकाले लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको वाध्यता भएको अध्यक्ष थापाले प्रष्ट पारेका थिए ।

राप्रपाबाट विभाजित भएको पशुपति शमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) सँगको तालमेल पनि अव्यवहारिक भएको पार्टीको निश्कर्ष छ । सरकारमा सहभागी रहेका दुबै पार्टीले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग तालमेल गरेका थिए ।बिहीबारको बैठकमा केही केन्द्रीय सदस्यहरुले तत्काल सरकारबाट राजीनामा दिएर संगठन गर्नुपर्नेमा नेतृत्वलाई दबाब दिएका थिए । बैठक शुक्रबार सकिँदैछ ।

मन्त्रीबाट हटाइएका गिरी आएनन्
मन्त्रिपरिषद्को बैठकमा सचिव हेरफेर गर्ने विषयमा बिबाद भएपछि अध्यक्ष थापाले शहरी विकासमन्त्रीबाट हटाएका केन्द्रीय सदस्य दिलनाथ गिरी केन्द्रीय समितिको बैठकमा आएनन् । गिरी मनोनीत केन्द्रीय सदस्य हुन् । बैठकमा बोलाउँदा चिठी पठाउने र फोन गर्ने प्रचलन रहेको र आफूलाई नबोलाइएको पनि गिरीले बताए ।

मन्त्रिपरिषद्को बैठकमा मन्त्री गिरीले सचिव फेर्ने विषय उठाएपछि उपप्रधानमन्त्रीसमेत रहेका उर्जामन्त्री कमल थापा र गिरीबीच भनाभन भएको थियो । सचिवसँग मिलेर काम नगर्ने हो भने राजीनामा दिन भनेका थिए थापाले गिरीलाई । गिरीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रीबाट हटाएका छन् । शहरी विकासमन्त्रीको जिम्मेवारी पनि थापाले नै लिएका छन् । असोजको अन्तिममा राप्रपा एक उपप्रधानमन्त्रीसहित तीन मन्त्री र तीन राज्यमन्त्री सरकारमा सहभागी भएका थिए ।
गिरीले भने पार्टी अध्यक्ष थापाको व्यवहार अप्रजातान्त्रिक भएकाले आफूलाई मन्त्रीबाट हटाइएको बताए । ‘ म ४८ वर्ष अघिबाट थापाजीसँग नै छु तर अहिले आएर यस्तो अपमान गरेपछि सँगै बसिरहनु उपयुक्त ठानिन’ गिरीले भने ‘पार्टीमा असन्तुष्टहरुको बेग्लै समूह बन्दैछ, हिजो एक पार्टीहरु मिलाउने आन्तरिक तयारी सुरु भएको छ , नेतृत्व नसच्चिए पार्टीमा बसिरहने कुरै आउँदैन ।’ उनले पार्टी अध्यक्षले नेतृत्व हस्तान्तरण गरेर नयाँ बिकल्प दिए आन्तरिक कमी कमजोरीको विश्लेषण गरेर पार्टीलाई बलियो बनाउन सकिने जनाए ।

तपाईको प्रतिक्रिया