काठमाडौं, २२ चैत २०८२ । जिल्ला अदालत काठमाडौंले लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा कुमारी शर्मालाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।
आइतबार न्यायाधीश जगतबहादुर पौडेलको इजलासले उक्त आदेश दिएको हो । जिल्ला अदालतले यस विषयमा पाटन उच्च अदालतबाट फैसला भइसकेको र महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउनु नपर्ने निर्णय गरेकाले थुनामा राख्न आवश्यक नभएको आदेश दिएको हो ।
”रेखा कुमारी शर्मा उपर दास बनाउन नहुने कसुरमा मुद्दा चलाउनु पर्ने अवस्था नदेखिएकोले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं र उच्च सरकारी वकिल कार्यालय पाटनबाट शंकित रेखाकुमारी शर्माको हकमा प्रस्तुत दास बनाउन नहुने मुद्दा नचलाउने गरी भएको निर्णय तथ्य र कानुन सम्मत रहेको देखिन्छ,’’ आदेशमा उल्लेख छ ।
बालिकालाई घरेलु कामदारका रुपमा दास बनाएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
२०८१ जेठमा काठमाडौं महानगरपालिकाले शर्माविरुद्ध मुलुकी फौजदारी अपराध संहिताको दास बनाउन नहुने कसुर अन्तर्गत कारबाहीका लागि प्रहरीमा उजुरी दिएको थियो ।
उजुरी परेको करिब दुई वर्षपछि उनी चैत १५ गते पक्राउ परेकी थिइन् ।






