Online Bichar
मंगलबार, जेठ ०५, २०८३ | Tuesday, May 19, 2026

झापा, ८ चैत २०८२ । झापाको गौरादह नगरपालिका-३ निवासी दीपिका कार्की हाल ब्लड क्यान्सर (रक्त क्यान्सर) सँग संघर्ष गरिरहेकी छिन् । गौरादह बहुमुखी क्याम्पसमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत उनी एक मेधावी विद्यार्थीका रूपमा चिनिन्छिन्।
हाल उनी भारतको राजीव गान्धी क्यान्सर अस्पताल मा उपचाररत छिन्। उपचार प्रक्रिया लामो र अत्यन्त खर्चिलो हुँदै जाँदा परिवार आर्थिक संकटमा परेको छ। दीपिकाका अनुसार २२ दिनको अस्पताल बसाइँका क्रममा तेस्रो किमोथेरापी सम्पन्न भइसकेको छ र यस अवधिमा मात्र करिब ७ लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ।

अस्पतालका अनुसार उनको आगामी सोमबार चौथो किमो थेरापी रहेको दीपिकाले बताएकी छिन्। आगामी दिनको उपचारका लागि आर्थिक अभाव हुने भएपछि दीपिकाको परिवारले सहयोगी मनहरूसँग आर्थिक सहयोगको अपिल गरेको छ । दीपिकाको उपचारमा अमूल्य सहयोग गर्नका लागि उपचार सहयोग रकम जुटाउन सप्तकोसी डेभलपमेन्ट बैङ्कको दीपिका कार्की स्वास्थ्य सहयोग कोष नामको बचत खाता नम्बर 0320000308001मा सहयोग रकम जम्मा गरिदिन अथवा बैङ्कले उपलब्ध गराएको क्यु आर कोडमा सिधै सहयोग रकम रकमान्तर गर्न सकिने व्यवस्था रहेको स्थानीय शीतल अधिकारीले जानकारी दिए । दीपिकाका अनुसार गत माघ ३० गते गौरादहकै अस्पतालमा रगत परीक्षण गर्दा रिपोर्ट नराम्रो आएकोले पुनः विराटनगर स्थित नोबेल मेडिकल अस्पतालमा परीक्षण गराउँदा रक्त क्यान्सर संक्रमण भएको थाहा भएको उनले जनाइन ।

दिल्ली स्थित राजीव गान्धी अस्पतालमा हाल उनी उपचारको क्रममा रहेकोले उनको उपचारमा सहयोग गरिदिन गौरादहका अधिकांश नागरिकहरूले सामाजिक सञ्जाल मार्फत अपिल गरिरहेका छन् । अध्ययनमा दीपिका अब्बल रहेको उल्लेख गर्दै गौरादह स्थित जनता माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक थानेस्वरी निरौला ढकालले सामाजिक सञ्जालमा यस्तो लेख्नुभएको छ । ‘दीपिका !!! तिम्रो साथमा हामी रहने छौ । धैर्य गर है।’ हाम्रो जनता मा. वि. गौरादहकी अत्यन्तै अनुशासित र जेहनदार कक्षा १२ सम्म अध्ययन गर्दा कक्षा प्रथम भएर आफ्नो पढाइलाई निरन्तरता दिँदै हाल गौरादह बहुमुखी क्याम्पस गौरादहमा स्नातक तहमा अध्ययनरत हाम्री प्यारी विद्यार्थी दीपिका रक्त क्यान्सर जस्तो रोगसँग लड्दै भारतमा उपचार गर्दै छिन् । हाम्रो सानो सहयोगले कसैको जीवनमा ठुलो राहत पुग्ने छ । सबै सहयोगी मनहरूले सहयोग गरिदिनु होला ।

तपाईको प्रतिक्रिया