Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

गौरीगञ्ज, १२ फागुन । मोटरसाइकलबाट लडेर घाइते भएका झापा गौरीगञ्ज गाउँपालिका–६ खजुरगाछीका प्रकाश अग्रवाललाई नजिकैको प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे गर्न आफन्तले लगे। केन्द्रमा पुगेपछि मात्र उनीहरुलाई थाहा भयो एक्स–रे मेसिन किनेदेखि सञ्चालन ल्याइएकै छैन रहेछ। उनीहरुले प्रकाशलाई दमक र्पुयाए। ‘हात र खुट्टामा समस्या भएकाले एक्स–रे गर्नुपर्ने भयो’, आफन्त अनुज अग्रवालले भने, ‘गाउँमै रहेको स्वास्थ्य केन्द्रमा भएको मेसिन सञ्चालन नभएपछि करिब २५ किलोमिटर टाढा दमक र्पुयाउनु र्पयो।’

गौरीगञ्जबासीलाई स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले २०६६ साल साउन २५ गते स्वास्थ्य केन्द्रमा खरिद गरेर ल्याइएको एक्स–रे मेसिन हालसम्म सञ्चालनमा ल्याइएको छैन। मेसिन सञ्चालन नहुँदा विरामी सामान्य एक्स–रे गर्न पनि दमक पुग्नु पर्ने बाध्यता छ। अत्याधुनिक एक्स–रे मेसिन नौ वर्षदेखि स्वास्थ्य केन्द्रको भण्डारमा थन्क्याइएको छ। मेसिन नचलाइ पुरानो भएको छ। बाहिर देखिने भागमा खिया लाग्न थालेको छ। यो मेसिनबाट एक जनाले पनि सेवा लिन नपाएको स्थानीय दिपक अधिकारीले बताए। स्वास्थ्य केन्द्रले प्राविधिक नभएको भन्दै मेसिन चलाउन नसकिएको जनाएको उनको भनाइ छ।

तत्कालिन खजुरगाछी गाविसले दुईलाख रुपयाँमा उक्त मेसिन खरिद गरेको हो। कार्यालयमा मेसिन चलाउने प्रविधिक (रेडियो ग्राफर) तत्काल नभएकाले सञ्चालनमा ल्याउन नसकिएको स्वास्थ्य केन्द्रकी प्रमुख डा. विद्या पोखरेलले बताइन्। प्रविधिक नभएकाले मेसिन खरिद भएको दिनदेखि कार्यालयको भण्डार कोठामा थन्क्याउनु परेको र सेवा लिन आउनेलाई त्यत्तिकै फर्काउनु परेको उनको भनाइ छ। मेसिन ल्याइए पनि दक्ष प्राविधिक अहिलेसम्म सम्बन्धीत निकायले पठाउन नसकेको डा.पोखरेलको भनाइ छ।

प्राविधिकको दरबन्दी रहे पनि सरकारले नपठाउँदा समस्या भएको गौरीगञ्ज गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख विकास पौडेलले बताए। मेसिन चलाउन नसकिए पनि सुरक्षित साथ राख्न समेत नसक्दा लगभग मेसिन काम नलाग्ने अवस्थामा पुगेको उनले स्वीकार गरे। स्थानीय नारायणी यादवले मेसिनको सुरक्षामा स्वास्थ्य केन्द्रले चासो नदिएको आरोप लगाइन्। ‘मेसिन भएर पनि सेवाग्राहीले सेवा पाउन सकेका छैनन्’, उनले भनिन्, ‘न मेसिनको सुरक्षा गरिएको छ।’ सरकारी सम्पत्तिको सुरक्षा नहुँदा जनताले दुःख पाइरहेको यादवको भनाइ छ। अन्नपुर्णपोष्टबाट साभार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments