काठमाडौं, १९ फागुन २०८२ । अमेरिकी विदेश मन्त्रालयले जोर्डन, बहराइन, इराक, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका गैरअत्यावश्यक अमेरिकी सरकारी कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई अनिवार्य रूपमा ती देश छाड्न आदेश दिएको छ ।
विदेश मन्त्रालयले त्यहाँ रहेका कर्मचारीले इरानबाट गरिने ड्रोन र क्षेप्यास्त्र आक्रमणको निरन्तर खतराका साथै व्यावसायिक उडानमा आउन सक्ने ठूलो अवरोधको सामना गरिरहेको जनाएको छ ।
मन्त्रालयका अनुसार, जोर्डन, बहराइन र यूएईमा आतंकवादी आक्रमणको जोखिम छ । इराकमा हिंसा तथा अपहरणको उच्च जोखिम रहेको चेतावनी समेत दिइएको छ ।
अमेरिका र इजरायलले इरानविरुद्ध सैन्य कारबाही सुरु गरेयता यी ६ दूतावासबाट गैरअत्यावश्यक कर्मचारीलाई अनिवार्य रूपमा फिर्ता बोलाइएको यो पहिलोपटक हो । इरानले विशेष गरी अमेरिकी सैन्य र कूटनीतिक सुविधालक्षित प्रत्याक्रमण गरिरहेको छ ।
साउदी अरेबियास्थित अमेरिकी दूतावासमा इरानका दुई शंकास्पद ड्रोनले प्रहार गरेका थिए । रियादस्थित दूतावास परिसर वा त्यसनजिक थप दुई ड्रोन खसेका थिए ।
कुवेतस्थित अमेरिकी दूतावासमा पनि आक्रमण गरिएको छ । युद्ध सुरु भएयता यो क्षेत्रका धेरै अमेरिकी दूतावासले आफ्ना कर्मचारीवलाई ‘सेल्टर इन प्लेस’ आदेश जारी गरेका छन् । अमेरिकी नागरिकलाई पनि सोहीअनुसार गर्न भनिएको छ ।
कर्मचारीलाई फिर्ता हुन आदेश दिनुको अर्थ दूतावास पूर्ण रूपमा बन्द गरिनु भने होइन । यद्यपि, कुवेतस्थित अमेरिकी दूतावासले अर्को सूचना नआएसम्मका निम्ति बन्द रहने मंगलबार घोषणा गरेको छ ।
अरू दूतावासमा कूटनीतिक परिसरभित्र केही मुख्य कर्मचारी मात्र रहनेछन् ।
विदेश मन्त्रालयले मध्यपूर्वभर रहेका अमेरिकी नागरिकलाई पनि तत्काल ती देश छाड्न भनेको छ । यद्यपि, धेरै एयरलाइन्सले यो क्षेत्रमा आफ्ना उडान स्थगन गरेका कारण अधिकांश मानिस तुरुन्तै बाहिरिन सक्ने सम्भावना कम छ ।
अमेरिकी सरकारले हालसम्म आफ्ना नागरिकका निम्ति उद्धार उडान सुरु गरेको छैन ।






