काठमाडौं, ५ मंसिर २०८३ । सरकारले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै क्लबका निम्ति फ्लडलाइटसहितका क्रिकेट रंगशाला निर्माण प्रक्रिया अबका तीन महिनाभित्र अघि बढाउने भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०ले एनपीएलको छैटौँ संस्करणदेखि प्रतियोगिता ‘होम एन्ड अवे’ प्रणालीमा सञ्चालन गर्ने लक्ष्यसहित सबै क्लबका निम्ति आफ्नै क्रिकेट रंगशाला निर्माण गर्न लागिएको जानकारी दिएका हुन् ।
उनले आफ्नो सामाजिक सञ्जालमार्फत विराटनगर किंग्सका निम्ति बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थ, कर्णाली याक्सका निम्ति सुर्खेत, सुदूरपश्चिम रोयल्सका लागि फाप्ला, काठमाडौं गोर्खाजका निम्ति कीर्तिपुर, पोखरा एभेन्जर्सका लागि पोखरा, जनकपुर बोल्ट्सका निम्ति रामजानकी र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण गरिने बताएका छन् ।
प्रधानमन्त्री शाहले फाप्ला क्रिकेट रंगशाला निर्माणको प्रक्रिया अघि बढिसकेको बताएका छन् । अरू रंगशालाको निर्माण प्रक्रिया पनि अबका तीन महिनाभित्र सुरु गरिने उनले बताएका छन् । उनले क्रिकेटको व्यावसायिक विकास र विस्तारका निम्ति आवश्यक पूर्वाधार निर्माण गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।
यी रंगशाला नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गरिने उनको भनाइ छ । रासस






