अर्घाखाँची, १३ माघ २०८२ । एचआईभी संक्रमित व्यक्तिलाई हेर्ने समाजको दृष्टिकोणमा अझै अपेक्षित परिवर्तन आउन नसकेको सरोकारवालाले बताएका छन्। अर्घाखाँचीको सन्धिखर्कमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरूले एचआईभीलाई अझै पनि रोगभन्दा बढी सामाजिक अपराधका रूपमा बुझ्ने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै यसले संक्रमितको जीवन झन् कठिन बनाएको बताएका हुन्।
जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा एचआईभीसम्बन्धी लाञ्छना तथा भेदभाव कम गर्ने उद्देश्यले जनप्रतिनिधि, पत्रकार, प्रहरी तथा मृत्यु जोखिम समूहका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सहभागी वक्ताहरूले एचआईभीबारे पर्याप्त जानकारी हुँदाहुँदै पनि व्यावहारिक रूपमा समाज सकारात्मक हुन नसकेकोमा चिन्ता व्यक्त गरे।
कार्यक्रममा सन्देश समूहकी प्रतिनिधि पार्वता केसीले अर्घाखाँचीमा एचआईभी संक्रमित ३५ जनाको मृत्यु भइसकेको जानकारी दिँदै हाल जिल्लामा १ सय ४९ जना एचआईभी संक्रमित व्यक्ति जीवित रहेको बताइन्। तीमध्ये ७६ जना पुरुष, ७३ जना महिला तथा ७ जना बालबालिका रहेका छन्। ‘संख्या मात्रै हेर्दा सानो जस्तो देखिए पनि यसको सामाजिक र मानसिक असर निकै गहिरो छ,’ उनले भनिन्, ‘रोगभन्दा बढी लाञ्छना र भेदभावका कारण संक्रमितहरू खुलेर उपचार र सेवामा आउन डराउँछन्।’
उनका अनुसार अझै पनि एचआईभी संक्रमितलाई परिवार, समाज र कार्यस्थलमा विभेद गरिन्छ। कतिपय अवस्थामा गोपनीयता उल्लंघन हुने, सार्वजनिक रूपमा हेपाइने तथा सामाजिक गतिविधिबाट अलग्याइने समस्या विद्यमान रहेको उनले बताइन्। यसले संक्रमितलाई मानसिक तनावमा पार्नुका साथै उपचार निरन्तरतामा समेत असर पार्ने गरेको उनको भनाइ थियो।
कार्यक्रममा एड्स हेल्थ केयर सेन्टर बुटवलका कार्यक्रम संयोजक धर्मराज भट्टराईले एचआईभी संक्रमितलाई गरिने लाञ्छना र भेदभावका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। उनले एचआईभी सर्ने र नसर्ने विषयमा अझै पनि समाजमा भ्रम रहेको बताए। ‘सामान्य सम्पर्क, हात मिलाउँदा, सँगै बस्दा वा खाना खाँदा एचआईभी सर्दैन भन्ने कुरा अझै धेरैलाई स्पष्ट छैन,’ उनले भने, ‘यही अज्ञानताका कारण भेदभाव बढेको छ।’
भट्टराईले एचआईभी संक्रमित व्यक्ति पनि नियमित औषधि सेवन र स्वास्थ्य सेवामा पहुँच पाएमा सामान्य जीवन बाँच्न सक्ने उल्लेख गर्दै समाजले सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले जनप्रतिनिधि, सञ्चारकर्मी र सुरक्षा निकायका व्यक्तिहरूले सही सूचना प्रवाह गरी सकारात्मक सन्देश फैलाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए।
जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले एचआईभीलाई रोगका रूपमा स्वीकार गर्दै संक्रमितप्रति सम्मानजनक व्यवहार गर्न सबैको साझा दायित्व रहेको उल्लेख गरे।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोख्रेलले एचआईभीका विधि विषयमा संवेदनशीलता अपनाउनुपर्ने, पीडितको पहिचान गोप्य राख्नुपर्ने र नकारात्मक भाषाको प्रयोग नगर्नुपर्ने आवश्यकता औंल्याए। अभिमुखीकरण कार्यक्रममा एचआईभी रोकथाम, उपचार, हकअधिकार तथा सामाजिक समावेशीकरणका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्न सकेमा समाजमा व्याप्त गलत धारणामा क्रमशः परिवर्तन आउन सक्ने विश्वास व्यक्त गरे।
लाञ्छना र भेदभाव अन्त्य नगरेसम्म एचआईभी नियन्त्रणको लक्ष्य हासिल गर्न कठिन हुने भन्दै सरोकारवालाहरूले सचेतना, सहानुभूति र सहकार्यलाई प्राथमिकतामा राख्न आग्रह गरेको जिल्ला स्वास्थ्य कार्यालयका नीरू अधिकारी र बसन्त पोख्रेलले बताएका छन्।






