Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरव पोखरेल

काठमाडौं, २ फागुन । सशस्त्र प्रहरी बल नेपालमा ६ वटा शिक्षालय थप हुने भएको छ । करिब एक साताअघि गृहमन्त्रालयले सशस्त्र प्रहरी बललाई मुलुकका विभिन्न स्थानमा शिक्षालय थप्न स्वीकृति दिएको हो ।

शिक्षालय थप गरिए पनि दरबन्दी भने थपिएको छैन । गृहमन्त्रालय स्रोतले भन्यो, ‘हालकै दरबन्दीबाट खटाउने गरी शिक्षालय स्थापनाको स्वीकृति दिइएको हो ।’

गृहले यो स्वीकृति दिएसँगै सशस्त्रको बाहिनी र गणमा समेत तालिम सञ्चालन गर्नुपर्ने बाध्यता टरेको सशस्त्र प्रहरीका अधिकारीले दाबी गरेका छन् ।

सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरजकुमार श्रेष्ठले पनि हालकै जनशक्तिबाट काज खटाएर यही महिनाभित्र शिक्षालय स्थापना गरिसक्ने गरी तयारी थालिएको पुष्टि गरे ।

‘कार्यालय सञ्चालनका लागि स्वीकृति पाएका छौं । हालकै दरबन्दीबाट काज खटाएर कार्य प्रारम्भ गर्छौं’, श्रेष्ठले अनलाइनखबरसँग भने, ‘यसका लागि आवश्यक तयारी पनि सुरु भइसकेको छ ।’

हाल सशस्त्र प्रहरीको मातातीर्थ्स्थित प्रशिक्षण प्रतिष्ठानसहित मुलुकभर ६ वटा तालिम केन्द्र छन् । जसअनुसार नुवाकोटको ककनीमा संयुक्त राष्ट्र संघीय शान्ति स्थापना पूर्वतैनाथी तालिम, चितवनको कुरिनटारमा विपद् व्यवस्थापन, पोखरामा हुलदंगा व्यवस्थापन, नवलपरासीको बर्दघाटमा सीमा सुरक्षा र बाँकेमा सशस्त्र प्रहरी जवान तालिम हुँदै आएको थियो ।

हाल खडा रहेका शिक्षालयहरुमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्व रहने गरेको छ । तर, नयाँ संरचना थप्नु पर्ने भएसँगै आवश्यकता अनुसार कतिपय शिक्षालयमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को नेतृत्वमा समेत अधिकृतहरु खटाउने तयारी छ ।

आगामी दिनमा भने एसएसपीकै दरबन्दी माग गरिने सशस्त्र प्रहरीका एक अधिकारीले बताए ।

सबै तालिम केन्द्रको नाममा एकरुप ल्याइँदै

सशस्त्र प्रहरीमा नयाँ ६ वटा तालिम केन्द्र स्थापना भएसँगै पुराना तालिम केन्द्रको नामहरुमा पनि एकरुपता ल्याइने भएको छ । यसअघि आफ्ना युनिटहरुको नाममा देवीदेवतासँग सम्बन्धित शब्दावली हटाएको सशस्त्र प्रहरी प्रहरीले शिक्षालयको नाममा पनि एकरुपता ल्याउन लागेको हो ।

यसअघि कुनै तालिम केन्द्रलाई महाविद्यालय भनिन्थ्यो भने कुनैको नाम पछाडि तालिम केन्द्र राखिएको थियो । अब ती सबै युनिटको पछाडि शिक्षालय मात्र राखिनेछ ।

डीआईजी श्रेष्ठका अनुसार नयाँ योजना अनुरुप झापाको दमक, सप्तरी, काठमाडौंको बलम्बु, कैलालीको टीकापुर र वनवेहडा र मनाङमा शिक्षालय स्थापना हुनेछ ।

झापाको दमकमा हाल रहेको पाथिभरा गणमा अब जवान शिक्षालय हुनेछ भने सप्तरीमा ‘वाटर रेस्क्यू’ तालिम शिक्षालय खुल्नेछ । कोशी नदी नजिक रहेको दन्तकाली गणलाई विपद् व्यवस्थापन शिक्षालयमा परिणत गर्न लागिएको हो ।

यसअघि बाँकेको नोवस्तामा मात्रै जवानका लागि तालिम हुँदै आएको थियो भने चितवनको कुरिनटारमा मात्रै विपद व्यवस्थापन तालिम हुन्थ्यो ।

काठमाडौंको बलम्बुमा भने प्राविधिक समूहका अधिकृतहरुलाई लक्षित गरेर प्राविधिक शिक्षालय खोल्न लागिएको हो । जसमा चिकित्सक, सवारी चालक, कम्प्युटर अपरेटर, इञ्जिनियर लगायतले तालिम लिनेछन् ।

कैलालीको टीकापुरमा राजश्व भन्सार तथा औद्योगित सुरक्षा शिक्षालय स्थापना हुनेछ भने वनवेहडामा जवान शिक्षालय खुल्नेछ । मनाङमा पर्वतीय उद्दार तालिम शिक्षालय राख्ने सशस्त्र प्रहरी बलको तयारी छ ।

यही महिनाबाट तालिम थाल्ने तयारी

सशस्त्र प्रहरीले नयाँ स्थापना हुने शिक्षालयलाई यही महिनाबाट प्रयोगमा ल्याउने गरी तयारी थालेको छ । जसका लागि सशस्त्र प्रहरी एकेडेमीले पाठ्यक्रमको सिलेवस बनाउनेदेखि अन्य तयारी गरिसकेको छ ।

‘कतिपय पहिल्यैदेखि तयारी छन् । कोर्सलाई लेबलाइज र क्याटागोराइज गर्ने काम एकडेमीले गरिरहेको छ’, डीआईजी श्रेष्ठले भने, ‘अहिले भर्ना भएकाले नयाँ जवानहरुले नयाँ शिक्षालयमै तालिम लिन पाउनेछन् ।’

केहीअघि सशस्त्र प्रहरी जवानका लागि खुलेको भर्नामा लिखितसम्म आइपुग्दा १३ सय जना उत्तीर्ण भएका छन् ।

उनीले सशस्त्र प्रहरीको आधारभूत विषयबारे ६ महिना लामो तालिम जवान शिक्षालयमा लिन्छन् । त्यहाँ सशस्त्रको ब्यारेक प्रणाली, पीटी, परेड, हतियार बोक्दाको अनुशासन लगायतका विषयबारे प्रशिक्षण दिइन्छ ।

संघीयतामा जाँदा हाल सशस्त्र प्रहरीले एउटा जिल्लामा एउटा मात्र गण राख्ने नीति अख्तियार गरेको छ । जसअन्तरगत समायोजनामा परेका युनिटहरुलाई शिक्षालयमा परिणत गरिएको हो ।

५ वटा शिक्षालयको संरचनाको व्यवस्थापनसमेत भइसकेको अवस्थामा मनाङमा भने सशस्त्र प्रहरीले शिक्षालय स्थापना गर्ने संरचना पाएको छैन । त्यहाँ शिक्षालय स्थापनाका लागि उपयुक्त ठाउँको खोजी गर्ने काम भइरहेको सशस्त्र प्रहरी बल स्रोतले जनाएको छ ।

उत्तरमा पनि बोर्डर आउट पोष्ट (वीओपी) विस्तारै गर्दै जाने नीति लिएपछि त्यहाँको भूगोल र वातावरणसँग परिचित हुनसमेत मनाङमा पर्वतीय शिक्षालयमा आवश्यकता रहेको अधिकारीहरु बताउँछन् ।

अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया