Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

चितवन, २ फागुन, । पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ ।

प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा फूलको खेती गर्ने केही किसान पनि छन् । उनीहरुले उत्पादन गरेको गुलाबले बजारको माग केही हिस्सा मात्र पूरा गर्न सकेको छ ।

गुलाबको कम उत्पादन भइरहेपनि चितवनका एक युवा किसानले भने तीन महिनाको अवधिमा रु १० लाखको गुलाब बिक्री गरेका छन् । पन्ध्र कट्ठा जग्गामा गुलाब खेती गरेका भरतपुर महानगरपालिका–१८ गुन्जानगरका प्रकाश पन्तले तीन महिनाको अवधिमा रु १० लाखको फूल बिक्री गरेका हुन् ।

रु १० लाखको गुलाब बिक्री गर्दा खर्च कटाएर रु तीन लाख फाइदा भएको बताएका उनको फार्ममा यतिबेला ढकमक्क गुलाब फुलेका छन् ।

‘दैनिक एक हजार देखि एक हजार २०० स्टिक गुलाब उत्पादन हुने गरेको छ,’ पन्तले भने, ‘वैशाखमा लगाइएको बिरुवाले मंसिरबाट उत्पादन दिन थालेको हो ।’

प्रणय दिवसको अवसमा चितवनमा मात्रै २० हजार स्टीक गुलाबको माग रहेको फ्लोरिकल्चर एशोसियशन नेपाल, चितवन शाखाका अध्यक्षसमेत रहेका बताए ।

बिरुवा रोपेको छ महिनाबाट चार वर्षसम्म उत्पादन लिन सकिने गुलाबको उत्पादन मंसिरमा थोरै भए पनि पुस र माघमा भने राम्रो उत्पादन भएको उनको भनाइ थियो । गुलाबको होलसेल मूल्य प्रति स्टिक रु १४–१५ पर्छ । ‘गुलाब उत्पादन गर्न खर्चिलो छ,’ पन्तले भने, ‘एउटा बिरुवाको रु १०० पर्छ ।’ हल्याण्डबाट ल्याएको माउबोटलाई उनले ‘ग्राफ्टिङ’ गरेर आफ्नै फार्ममा बिरुवा तयार गरेका हुन् ।

‘नेपालमा उत्पादन गर्नसके बजारको कुनै समस्या छैन । बीसदेखि ३० डिग्री तापक्रम र करीब १२ घण्टा उज्यालो भयो भने गुलाब राम्रो फुल्छ । चितवनको मौसमअनुसार उज्यालो पुग्ने बेला तापक्रम बढी हुने र तापक्रम ठिक्क हुने बेला उज्यालो पुग्दैन’, पन्तले भने, ‘मौसमको अनुकूलता नमिल्ने भएका कारण जति उत्पादन हुुनुपर्ने हो त्यो अनुपातमा हुन सकेको छैन ।’

विदेशमा बत्तीको व्यवस्था गरेर उज्यालो बनाइएको हुन्छ, त्यो प्रविधि जोड्न खर्चिलो छ, एक किसानले मात्रै सम्भव छैन भन्दै उनले प्रविधिमा पछाडि परेकै कारण गुलाब खेती क्रमशः घट्दै गएको जानकारी दिए । विदेशबाट ठूलो परिमाणमा गुलाब आयात भइरहँदा पनि राज्यले गुलाब खेतीतर्फ ध्यान नदिएको पन्तको गुनासो छ ।

चितवनमा गुलाबखेती गर्ने किसान न्यून छन् । नारायणगढमा गुलाबलगायतको फूलको व्यापार गर्ने आधा दर्जन पसल छन् । गुलाबको फूल घर तथा होटलको सजावट, विवाह, जन्मदिनलगायत विभिन्न शुभकार्यमा प्रयोग गरिन्छ ।

नेपालमा वैशाखदेखि मङ्सिरसम्म स्वदेशी उत्पादनले गुलाबको माग धान्ने गरे पनि यसबाहेकको अवधिमा भारतलगायत देशवाट आयात हुने गरेको छ । पन्तले गुलाबसँगै गोदावरी र ग्ल्याडिओलस फूलको खेती गरेका छन् । उनले उत्पादन गरेको फूल चितवन, पोखरा र काठमाडौँलगायतका शहरमा खपत हुने गरेको छ ।

रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments