Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् ।

बिहीबार बिहान आयोजित एक समारोहका बीच प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको कार्यालय उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै भौतिक योजना तथा पूर्वाधार मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीकाे निर्देशनमा कार्यालय स्थापना गरिएको र छिट्टै राष्ट्रिय झण्डा राखेर पानी जहाज कुदाउने बताए ।

सडक र हवाईभन्दा जलमार्गबाट सामान ढुवानी गर्न वातावरणीय दृष्टिले उपयुक्त हुने भन्दै उनले नेपाल जस्ताे भुपरिवेष्टित राष्ट्रका लागि याे गाैरवकाे कुरा भएको बताए ।

महासेठले भने, प्रधानमन्त्रीज्यूले पानीजहाजको कुरा गर्दा खाल्डोमा कागजको जहाज बनाएर उल्लाईयो । जसले हामीलाई अझ काम गर्ने जोश आयो,’ महासेठले भने ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओलीले गत वर्ष फागुनमा भारत भ्रमणबाट फर्किएलगत्तै यातायात र उद्योग मन्त्रालयका अधिकारीसँग पानीजहाज सञ्चालनबारे छलफल गरेका थिए । सो छलफलमा उनले पानीजहाज सञ्चालनसम्बन्धी विस्तृत योजना बनाउन निर्देशन दिएका थिए ।

महत्वाकांक्षी मानिएको पानी जहाज चलाउने योजनालाई सफल बनाउन सरकारले छिमेकी मुलुक भारतसँग गत साउन महिनामा पहिलोपटक छलफल गरेको थियो ।

भारतको अन्तरदेशीय जलमार्गसँग नेपालको जलमार्गलाई जोड्ने गरी हाल गृहकार्य भइरहेको छ । भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगा नदीको हल्दीपुरसम्म पानीजहाज चलाउन पूर्वाधार बनाउने काम सुरु गरिसकेको छ । हल्दीपुर नेपालको सीमाबाट करिब २७५ किलोमिटर टाढा पर्दछ ।

नेपालले पनि नारायणी नदीमा केन्द्रित भएर पानी जहाज चलाउने योजना बनाइरहेको छ । त्यसको स्थलगत र सम्भाव्यता अध्ययन गर्न भारतको जल प्राधिकरणका अधिकारीहरु यही फागुन १९ गते नेपाल आउने तयारीमा छन् ।

यसअघि प्रधानमन्त्री ओलीले संसदमा सम्बोधनको क्रममा नेपालले आफ्नै पानीजहाज चलाउने बताउँदा मजाकमा उडाइएको थियो । त्यसैले ओली नेतृत्वको वर्तमान सरकारले पानीजहाज चलाउने योजनालाई प्रतिष्ठाको विषय बनाएको छ ।

तपाईको प्रतिक्रिया