Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

काठमाडौं, २ फागुन । नेपालमा पहिलोपटक ‘पानीजहाज कार्यालय’ स्थापना हुँदैछ । ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय स्थापना गर्न लागिएको हो ।

कार्यालयको औपचारिक उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गर्दैछन् । पानीजहाज कार्यालय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहत छ ।

कार्यालयमा उपसचिवको नेतृत्वमा १६ जना कर्मचारीको दरबन्दी निर्धारण गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारप्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिए ।

मन्त्रिपरिषदको गत पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनियर एक, शाखा अधिकृत एक, कानून अधिकृत एक, लेखा अधिकृत एक, मेकानिकल, राजमार्ग र सिँचाइतर्फका इञ्जिनियर एक÷एक गरी तीनजना, सहायक र कार्यालय सहयोगी गरी ८ जना कर्मचारीको दरबन्दी स्वीकृत गरेको थियो ।

प्रधानमन्त्री ओलीले गत वर्ष फागुनमा भारत भ्रमणबाट फर्किएलगत्तै यातायात र उद्योग मन्त्रालयका अधिकारीसँग पानीजहाज सञ्चालनबारे छलफल गरेका थिए । सो छलफलमा उनले पानीजहाज सञ्चालनसम्बन्धी विस्तृत योजना बनाउन निर्देशन दिएका थिए ।

महत्वाकांक्षी मानिएको पानी जहाज चलाउने योजनालाई सफल बनाउन सरकारले छिमेकी मुलुक भारतसँग गत साउन महिनामा पहिलोपटक छलफल गरेको थियो ।

भारतको अन्तरदेशीय जलमार्गसँग नेपालको जलमार्गलाई जोड्ने गरी हाल गृहकार्य भइरहेको छ । भारतको अन्तरदेशीय जलमार्ग प्राधिकरणले गंगा नदीको हल्दीपुरसम्म पानीजहाज चलाउन पूर्वाधार बनाउने काम सुरु गरिसकेको छ । हल्दीपुर नेपालको सीमाबाट करिब २७५ किलोमिटर टाढा पर्दछ ।

नेपालले पनि नारायणी नदीमा केन्द्रित भएर पानी जहाज चलाउने योजना बनाइरहेको छ । त्यसको स्थलगत र सम्भाव्यता अध्ययन गर्न भारतको जल प्राधिकरणका अधिकारीहरु यही फागुन १९ गते नेपाल आउने तयारीमा छन् ।

यसअघि प्रधानमन्त्री ओलीले संसदमा सम्बोधनको क्रममा नेपालले आफ्नै पानीजहाज चलाउने बताउँदा मजाकमा उडाइएको थियो । त्यसैले ओली नेतृत्वको वर्तमान सरकारले पानीजहाज चलाउने योजनालाई प्रतिष्ठाको विषय बनाएको छ ।

तपाईको प्रतिक्रिया