Online Bichar
मंगलबार, फाल्गुण ०५, २०८२ | Tuesday, February 17, 2026

काठ्माडौं, १२ पुस २०८२ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणाली तर्फको चुनावका लागि दलहरूले उम्मेदवारहरूको बन्द सूची पेश गर्दै छन्। बन्दसूची पेश गर्न निर्वाचन आयोगले भोलि आइतबार र पर्सी सोमबार गरी दुई दिनको समयसीमा तोकिएको छ।

आयोगको परिसरमा स्थापना गरिएको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा अपरान्ह ४ बजेसम्म बन्दसूची बुझाउनुपर्ने आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए।

समानुपातिक निर्वाचन प्रणालीतर्फ कूल १ सय १० सिटका लागि दलहरूले उम्मेदवारहरूको बन्द सूची पेश गर्ने छन्। समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन निवेदन दिएका मध्ये एक सय वटा दललाई निर्वाचनमा जान आयोगले स्वीकृति दिएको थियो। आयोगमा हाल १३७ वटा राजनीतिक दल कायम रहेको छ।

कानुनी प्रक्रिया पूरा गरेर आयोगमा निर्वाचन कार्यालयमा बन्दसूची पेश गर्न आयोगले दलहरूलाई जानकारी गराएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधि सभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ ले तोके बमोजिमको विधि, प्रक्रिया, प्रमाण एवं कागजात पूरा गरेर रीत पुर्‍याएर मात्र उम्मेदवारको बन्दसूची बुझाउन आयोगले दलहरूलाई आग्रह गरेको छ।

नेपालको संविधान तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८ को उपदफा (५) मा राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची तयार गर्दा भूगोल र प्रादेशिक सन्तुलनलाई समेत ध्यान दिई जनसंख्याका आधारमा अनुसूची १ बमोजिम दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समेतको समानुपातिक प्रतिनिधित्व हुने गरी समावेशी सिद्धान्त बमोजिम तयार गर्नुपर्ने व्यवस्था छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनका लागि तयार गरेको उम्मेदवारको बन्दसूची सार्वजनिक गर्न समेत आयोगले राजनीतिक दलहरूलाई जानकारी गराएको छ। ‘निर्वाचन कार्यक्रममा उल्लेख भएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नुभन्दा अघि सम्बन्धित राजनीतिक दलले सर्वसाधारण सबैको जानकारीका लागि सार्वजनिक गर्न सक्ने व्यहोरा अनुरोध गरिन्छ,’ आयोगले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।अन्नपूर्णपोष्टबाट

 

तपाईको प्रतिक्रिया