Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं, १ फागुन । भारतले गण्डक नदी हुँदै नेपाली सीमासम्म पानीजहाज आउने गरी नयाँ परियोजनाको काम थालेको छ।

भारतका सिपिङ, जलस्रोत र नदी विकास मन्त्री नितिन गडकरीले पटनाको गाईघाटबाट बगाहासम्म पानीजहाज ल्याउने परियोजनाको सोमबार शिलान्यास गरेका छन्।

भारतको सिपिङ मन्त्रालयले हल्दिया बन्दरगाहबाट नेपाली सीमासम्म पानीजहाजमा सामान ढुवानी गर्न यो परियोजना बनाउन लागिएको जनाएको छ।

१ हजार टनसम्मका कन्टेनर बोक्ने पानीजहाज ल्याउन गाईघाटदेखि बगाहासम्मको तीन सय किलोमिटरमा ४ वटा टर्मिनल बनाइनेछ। १३ करोड भारतीय रूपैयाँ खर्चेर अर्को वर्षसम्म पानीजहाज चलाउने भारतको योजना छ।

मन्त्री गडकरीले भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई यो परियोजनाबाट नेपालले धेरै फाइदा लिन सक्ने बताएका छन्। सोमबार नयाँदिल्लीमा भएको भेटमा गडकरीले हल्दियादेखि नारायणी नदी तथा दुई देशको सीमा त्रिवेणीघाटसम्मको जल यातायात मार्गको निर्माण एक वर्ष्भित्र सम्पन्न हुने भएकाले त्यसको फाइदा लिन आग्रह गरे।

नेपाली सीमाबाट नजिकैको बगाहासम्म पानीजहाज ल्याउन भारतले काम थालेपछि अब नारायणी नदीमा पनि पानीजहाज चलाउने कुराले सार्थकता पाउने नेपाली अधिकारीहरूले बताएका छन्।

‘नेपालमा पानीजहाज चलाउने कुराले अब गति लिन्छ, भारतको बगाहादेखि दासढुंगासम्म जहाज ल्याउन अब हामी अध्ययन थाल्छौं,’ जलमार्ग अध्ययन गर्न बनेको समितिका संयोजक सहसचिव माधव बेल्वासेले सेतोपाटीसँग भने, ‘मार्चमा हुने भारतीय पक्षसँगको बैठकमा विभिन्न ठाउँको स्थलगत अध्ययन पनि हुन्छ।’

उनका अनुसार कोसी र गण्डकीमा पानीजहाज चलाउनेबारे थप अध्ययन र छलफल गर्न भारतीय प्राविधिकको टोली काठमाडौं आउँदैछ।

‘मार्च ३ देखि ९ तारिखसँग छलफल हुने तय भएको छ,’ बेल्वासेले भने, ‘गण्डक ब्यारेज हुँदै पानीजहाज कसरी नेपाल पसाउने भन्नेमा दुबै देशका अधिकारीबीच छलफल हुन्छ।’

बेल्वासेले अब सुस्ता आसपासमा नेपाली टर्मिनल बनाउन अध्ययन सुरू गरिने बताए।

उनका अनुसार पानीजहाज कार्यालयले काम सुरू गरेपछि यसको गति झन् बढ्नेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार नेपाल पानीजहाज कार्यालयको उद्घाटन गर्दैछन्।

ललितपुरको एकान्तकुनामा पानीजहाज कार्यालय राखिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए।

‘कार्यालयमा सहसचिव रजिष्ट्रार हुन्छन्। अहिले रजिष्ट्रार खटाइएको छैन तर अन्य कर्मचारीले काम सुरू गर्दै गर्छन्,’ सचिव अधिकारीले भने।

गत चैतमा भएको प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा जलमार्गमार्फत् कार्गो ढुवानी गर्न भारतले नेपाललाई समुद्रसम्म पहुँच दिने समझदारी भएको थियो।

यसका लागि दुई देशबीचको व्यापार तथा पारवाहन सम्झौतामा जलमार्ग पनि थप्ने गृहकार्य गर्न दुई प्रधानमन्त्रीले सम्वन्धित अधिकारीलाई निर्देशन दिएका थिए।

नेपालले जेठ तेस्रो साता जल तथा उर्जा आयोगका सहसचिव वेल्वासेको संयोजकत्वमा उर्जा तथा सिँचाइ,भौतिक पूर्वधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयका प्रतिनिधि सदस्य राखेर समिति बनाएको थियो।

समितिमा गोपाल सिग्देल, प्रविणराज अर्याल, तर्कराज भट्ट, रिता धिताल रमहेश्ववर श्रेष्ठ सदस्य छन्।

नेपालले तेस्रो मुलुकबाट समान ओसारपसार गर्न अहिले कलकत्ताको हल्दिया बन्दरगाह प्रयोग गर्छ।

हल्दिया–बनारस जलमार्गको कटिया भन्ने ठाउँमा नेपालको कोशी नदी मिसिन्छ। बिहारमा पर्ने कटिहार नेपाली सीमाबाट करिब १५० किलोमिटर तल छ। त्यस्तै नारायणी नदी पटना नजिकै पुगेर गंगामा मिसिन्छ।

तपाईको प्रतिक्रिया