Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडाैं , १ फागुन । आँखामा अचानक बाहिरी वस्तु, धातु, सिसाको टुक्रा प्रवेश गर्न सक्छ । यस्तो अवस्थामा आँखा माड्नुहुँदैन ।

– ऐनामा आफैँ हेर्ने वा कुनै सहयोगीलाई आँखामा हेर्न लगाउनुपर्छ । अनि, परेला च्यातेर तल–माथि र दायाँ–बायाँ हेर्ने, बारम्बार आँखा झिम्क्याउने गर्दा त्यो वस्तु निस्कन सक्छ ।

– साथै, चिसो पानी आँखामा छ्यापेर पानीमा टाउको डुबाएर आँखा खोल्दा त्यस्ता वस्तु निस्कन सक्छन् ।

– आँखामा परेको बाहिरी वस्तुलाई निकाल्न या हटाउन चिमोट्ने, औँलाको नङ या कुनै सिन्काको प्रयोग गर्नुहुँदैन ।

– निकै पीडा भएमा या ठूलै चोट लागेको अनुभव भएमा जतिसक्दो चाँडो आँखा विशेषज्ञलाई देखाई उपचार गर्नुपर्छ ।

– समयमै उपचार गराएमा आँखालाई अरू बढी नोक्सान हुनबाट बचाउन सकिन्छ ।

– आँखामा कटन आइप्याड लगाएर तुरुन्त आँखाको डाक्टरलाई भेट्न सकेमा राम्रो हुन्छ । बालबालिका हो भने आँखामा चोट लागेपछि पेट खाली राख्नुपर्छ किनभने, चिकित्सा प्रक्रियाअन्तर्गत अप्रेसन गर्नुपर्नेसम्मको अवस्था पनि आउन सक्छ ।

– त्यसैगरी रङरोगनको काम गर्दा, घरमा कुनै केमिकलले साङ्ला या लामखुट्टे भगाउँदा अथवा कुनै स्प्रे गर्दा भूलवश आँखामा ती वस्तु पर्न सक्छन् । यस्तो अवस्थामा बिरामी शान्त भएर बस्नुपर्छ । तर, आँखा रुमालले पुछ्ने, आँखा माड्ने, आँखामा पट्टी बाँध्ने वा चिम्लिने गर्नुहुँदैन । यसो गर्नाले रसायन आँखाको भित्री सतहसम्म पुगी थप क्षति बेहोर्नुपर्ने हुन सक्छ ।

– यस्तो प्रकारको घटनामा लगातार १५–३० मिनेटसम्म शुद्ध पानीले आँखा सफा गर्नुपर्छ ।

– खेलका क्रममा चोटपटक लागेमा अवस्थामा रुमाल या तौलियामा आइसको एउटा सानो टुक्रालाई बेर्ने र प्रभावित आँखामा हल्का सेक्नुपर्छ । तर, आँखामा सोझै बरफको टुक्राले सेक्नु भने हुँदैन ।

– यति गर्दा पनि आराम नभएमा आँखा खोल्न गाह्रो भएमा, आँखा दुखिरहेमा या हेर्दा धमिलो देखिएमा नजिकको आँखा अस्पतालमा तुरुन्तै
जाँच गराउनुपर्छ । याे सामग्री नयाँ पत्रिकामा प्रकाशित छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया