Online Bichar
मंगलबार, चैत्र ०६, २०८० | Tuesday, March 19, 2024

काठमाडौं, २५ माघ । धेरै सांसदको गुनासो छ, आफ्नो क्षेत्रको विकास योजनाका लागि सरकारले बजेट दिएन । तर, शुक्रबार संसदमा अनौठो गुनासो सुनियो, १० लाख माग्दा १ करोड १० लाख पठायो !

यस्तो गुनासो गर्ने सांसद हुन्, राजेन्द्र लिङदेन । झापा ३ बाट निर्वाचित राप्रपा सांसद लिङदेनका अनुसार ‘तराई मधेस समृद्धि कार्यक्रम’ अन्तरगत झापाको केचनाकबल गाउँपालिकामा यस्तो भएको हो ।

उनका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिलिङ पठाएर कार्यक्रम मागेको थियो । गाउँपरिषद्ले योजनाहरु छनोट गरेर पठायो । तर, प्राथमिकताको अन्तिम सूचीमा रहेको कार्यक्रम, जहाँ १० लाख माग गरिएको थियो । मन्त्रालयले १ करोड १० लाख पठायो ।

‘हामीले यस्तो किन भयो भनेर मन्त्रीजीलाई सोध्यौं । गापाले पनि आफ्नो निर्णय स्मरण गरायो । मन्त्रीज्यूले हेर्छु भन्नुभयो । अहिलेसम्म हेर्नु भएन’ राप्रपा सांसद लिङदेनले भने, ‘किन हेर्नु भएन भनेर बुझ्दा कार्यकर्ताको सिफारिसका आधारमा योजना छनेाट भएको रहेछ ।’

उक्त योजनामा १ करोड १० लाख खर्च गर्ने ठाउँ नै नभएको उनको दाबी छ । राप्रपा सांसद लिङदेनले भने, ‘मैले त यो संसदमा संघीयतामा विमती राख्ने म मात्र छु होला, संघीयतालाई व्यवहारमै खतम गर्ने मन्त्री नै हुनुहुँदोरहेछ । अब संगत गर्नुपर्ला ।’

अनसन बस्ने चेतावनी

सांसद लिङदेनले झापा जिल्लामा देशको धेरै बजेट गयो भन्ने प्रचार भएको भन्दै खण्डन गरे । ‘म त्यो निर्वाचन क्षेत्रको प्रतिनिधि हुँ, जहाँ केन्द्रीय तहबाट नयाँ कार्यक्रमका लागि एक रुपैयाँ पनि गएको छैन’ उनले भने, ‘विगतमा सुरु गरेका बहुबवर्षीय योजनाहरु रोक्ने काम भएको छ ।’

कचनाकबल गाउँपालिका लगायतका क्षेत्रमा सञ्चालित बहुवर्षीय योजनाहरु लथालिंग छोडिदा आवागमनमा समेत असुविधा पुगेको उनले बताए ।

उनले संसदमा आफू एक्लो प्रतिनिधि भएका कारण आफ्नो क्षेत्रका जनतालाई उपेक्षा गर्ने, दुःख दिने काम नगर्न सरकारलाई चेतावनी समेत दिएका छन् । सांसद लिङलेनले भने, आवश्यक परे साच्चै अनसन बस्छु ।’

तपाईको प्रतिक्रिया