Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

विराटनगर, २३ माघ। विराटनगर भन्सार कार्यालयले चालू आर्थिक वर्षको प्रथम ६ महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । चालु आव ०७५/०७६ को साउनदेखि पुस मसान्तसम्म १९ अर्ब ५७ करोड २० लाख रुपैयाँ राजस्व संकलन भएको भन्सार प्रमुख मिमांश अधिकारीले जानकारी दिए । उनका अनुसार ६ यस अवधिमा भन्सारले १९ अर्ब ५६ करोड ४६ लाख रुपैयाँ संकलनको लक्ष्य लिएको थियो ।

लक्ष्यभन्दा ७४ लाख रुपैयाँ बढी राजस्व संकलन भएको छ । उनका अनुसार भन्सार महसुलबाट आठ अर्ब १२ करोड एक लाख, मूल्य अभिवृद्धि करबाट १० अर्ब ३६ करोड २६ लाख र अन्तःशुल्कबाट एक अर्ब आठ करोड ९३ लाख गरेर जम्मा १९ अर्ब ५७ करोड २० लाख रुपैयाँ संकलन गरिएको हो ।

आव ०७४÷०७५ को यसै अवधिमा भन्सारले १३ अर्ब ८३ करोड ६२ लाख रुपैयाँ मात्रै राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षको यस अवधिको तुलनामा यस वर्ष ४१ दशमलव ५४ प्रतिशतले बढी राजस्व उठेको हो । भन्सारले चालु आवमा ४२ अर्ब ५३ करोड १९ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य छ । भन्सार प्रमुख अधिकारीले वैशाख, जेठ र असार महिनामा भारत तथा तेस्रो मुलुकबाट सामान आयात वृद्धि हुने र विकास खर्च पनि बढ्ने भएका कारण त्यस समयमा राजस्व संकलनमा उल्लेख्य वृद्धि हुने जानकारी दिए । ‘आधा आर्थिक वर्षमै लक्ष्यभन्दा धेरै राजस्व संकलन भएको छ’,उनले भने, ‘सुरुवातबाटै उत्साहजनक हिसावमा राजस्व संकलन भइरहेका कारण पूरै आर्थिक वर्षको लक्ष्य भेट्टाउन कुनै गाह्रो हुँदैन ।’

भन्सार जाँचपासमा सहजता, मालवस्तुको यथार्थपरक मूल्यांकन तथा वस्तु वर्गीकरण, यात्रु जाँचपासमा कडाइ, चोरी, पैठारी/निकासी नियन्त्रण तथा गस्ती परिचालन र मुद्दाका रूपमा दाखिला भएका माल वस्तुको समयमा नै लिलामी बिक्री जस्ता रणनीति अवलम्बन गरिएका कारण भन्सारको राजस्व संकलन उत्साहजनक देखिएको प्रमुख अधिकारीको भनाइ छ ।

उनका अनुसार भारत तथा तेस्रो मुलुकबाट नेपालतर्फ आयात हुने प्रमुख माल वस्तु पेट्रोलियम पदार्थ, एमएम विलेट, पोलीथिन दाना, स्टिल वायर रड, सेन्थेटिक यार्न, सीआर सिट, एलपी ग्यास, एचआर सिट र खाद्यान्नले राजस्व संकलनको धेरै हिस्सा ओगट्दै आएका छन् । नेपालबाट भारत तथा तेस्रो मुलुकमा सेन्थेटिक यार्न, जुटको झोला, जुटबाट बुनिएका कपडा, अलैंची, अन्य रेसाको कपडा, रिफाईन्ड पाम आयल, जीआई वायर, जस्तापाता, कपर सिट र पिना बढी निर्यात हुने गरेको छ ।

अन्नपूर्णपोष्टबाट साभार

तपाईको प्रतिक्रिया