Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

माओवाद नछाड्ने प्रचण्डको प्रतिवद्धता

काठमाडौं । ‘माओका योगदान’ लाई मूल्यांकन गर्ने सवालमा एमाले र माओवादीवीच फरक फरक बुझाइ रहँदै आएको छ । एमालेले भने माओवाद र विचार केही पनि मान्दैन र उसले माओ जयन्ती पनि मनाउँदैन । तर, माओवादी पार्टीले भने आफ्नो पथ प्रदर्शक सिद्धान्तकै रुपमा माओवादलाई मान्दै आएको छ । जुन एमाले र माओवादीवीचको वैचारिक फरकपन हो ।अब पार्टी एकता गर्ने क्रममा या त एमालेले माओवाद मान्नुपर्ने हुन्छ, या माओवादीले माओवाद छाड्नुपर्ने हुन्छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मार्क्सवाद, लेनिनवादका साथै माओवादको रक्षा गर्नु आफूहरुको कर्तव्य भएको बताएका छन् । चिनियाँ नेता माओले देखाएको बाटोमा अविचलित रुपमा लागिरहने प्रचण्डले प्रतिवद्धतासमेत जनाएका छन् ।

माओत्सेतुङको १२४ औं जन्मदिनका अवसरमा प्रचण्डले प्रेस वक्तव्य जारी गर्दै भनेका छन्-‘मार्क्र्सवाद-लेनिनवाद – माओवादको रक्षा, प्रयोग र विकासका निमित्त गहन अध्ययन, अनुसन्धान र बहसमा जुट्न आह्वान गर्नु हामी आफ्नो कर्तव्य ठान्दछौं ।’

प्रचण्डले वक्तव्यमा अगाडि भनेका छन् ‘क्रान्ति र प्रतिक्रान्तिको ज्वारभाटाको बीचमा क्रान्ति प्रक्रिया अगाडि बढ्ने कुरालाई आत्मसात् गर्दै माओले देखाएको बाटोमा अविचलितरुपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दछौं । पुनः एकपटक कमरेड माओप्रति लालसलाम ।’Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

समाजवाद र साम्यवादको दिशामा अगाडि बढ्नु सम्पूर्ण क्रान्तिकारीहरुको साझा दायित्व हो भन्दै प्रचण्डले यसका निम्ति क्रान्तिकारी धु्रवीकरण र एकता प्रक्रियाबाट नेपालमा शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।

माओत्सेतुङका विचारलाई माओवादका रुपमा आत्मसात गर्दै आएको माओवादीले प्रत्येक वर्ष डिसेम्बर २६ का दिन माओ दिवस मनाउने गरेको छ । यस वर्ष पनि पेरिसडाडाँमा रामबहादुर थापा बादलको नेतृत्वमा माओ दिवस मनाइएको छ ।

प्रचण्ड र नारायणकाजी भने काठमाडौं बाहिर भएकाले पार्टी मुख्यालयमा आयोजित माओ दिवसमा सहभागी हुन पाएनन् । यसैवीच बागबजारस्थित हार्दिक होटलमा सांसद देवेन्द्र पौडेलको आतिथ्यमा माओ दिवस मनाइएको छ भने विभिन्न जिल्लामा माओवादी नेता कार्यकर्ताहरुले माओदिवस मनाएका छन् ।

तपाईको प्रतिक्रिया