झापा, १ भदौ २०८२ । झापा दमकको परदेशी होटल एण्ड लजमा एक व्यक्ति मृत फेला परेका छन् । आज दिउँसो अन्दाजी १:३० बजे दमक –६ फाल्गुनन्द चोकमा रहेको परदेशी होटल एण्ड लजको रुम नं. २०१ मा बेलडाँगी २ बस्ने भुटानी शरणार्थी बर्ष अन्दाजी ३५ का संजिल राई मृत फेला परेका हुन् ।
उनी साउन २५ गतेदेखि सो होटलमा बस्दै आएका थिए । बहिनी नाताकी मनिला चाम्लिङ राईले फोन गर्दा नउठाएपछि सोही होटलमा आई हेर्दा राई घोप्टो परी बेहोस अवस्थामा भेटिएका थिए । उनको नजिकमा रहेको टेबुलमा गुग्ली नामक बिषादिको बट्टा फेला परेको छ ।
राईलाई लाईफलाईन अस्पताल दमकमा लगी उपचार गराउने क्रममा डाक्टरले मृत घोषणा गरेका थिए । इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएर अनुसन्धान भइरहेको जनाइएको छ । पाँचथर मिक्लाजुङ –३ घर भएका प्रेमकुमार फियाकले फाल्गुनन्द चोकमा सो होटल संचालन गर्दै आएका छन् ।






