काठमाडौं, १७ वैशाख २०८३ । देशका विभिन्न स्थानमा बिहीबार दिउँसो मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो ३ः४० बजेसम्म वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोसी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै ठाउँहरूमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित मध्यम वर्षा भइरहेको हो ।
महाशाखाले वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्ने क्रममा रहेको जनाएको छ । सो प्रणाली पूर्वतर्फ सर्दै जाँदा अन्य क्षेत्रमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ । मौसम विभागले सम्भावित जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ ।






