Online Bichar
सोमबार, मंसिर ०२, २०८२ | Monday, November 17, 2025

काठमाडौँ, २० साउन २०८२ । विद्यालय शिक्षा विधेयकका विवादित दफामा समाधान निकाल्न बसेको शिक्षा समिति अन्तर्गतको परामर्श समितिको बैठक बिनानिष्कर्ष सकिएको छ । विधेयकमा नमिलेका दफाको विषयमा छलफल गर्न बसेको समितिको बैठक निष्कर्षविहीन बनेको हो ।

विवादित दफामा सहमति जुट्न नसक्दा प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकसमेत बस्न सकेको छैन । समितिका सभापति अम्मरबहादुर थापाले भने एक–दुई दिनैमै विधेयक टुंगो लगाइने बताए ।

“समितिअन्तर्गतको परामर्श समितिको बैठक बसिरहेको छ । विवादित दफालाई कसरी मिलाएर लैजाने भन्ने विषयहरूमाथि छलफल भइरहेको छ,” थापाले भने, “भोलि बुधबार टुंगो लगाएर, समय भयो भने भोलि नै समितिको बैठक बस्छ । समय अपुग भयो भने पर्सि बैठक बसेर निर्णय गर्छ ।”

परामर्श समितिले आइतबारदेखि नै विधेयकमाथि छलफल गर्दै आएको छ । विधेयकका विवादित दफामा अस्थायी प्रकृतिको शिक्षक र शिक्षकको कार्यसम्पादन मूल्यांकन, शिक्षक पदपूर्ति, पूर्वप्राथमिक शिक्षा (ईसीडी) लगायत विषय छन् । यी विषयमा सरकार र शिक्षकबीच अझै पनि सहमति जुट्न सकेको छैन ।

विधेयक पारित गर्न नेपाल शिक्षक महासंघले दिएको ‘अल्टिमेटम’ भोलि साउन २१ गते सकिँदै छ । महासंघका सहअध्यक्ष तुलाबहादुर थापाले महासंघमा आगामी रणनीतिबारे कुनै छलफल नभएको बताए ।

“विधेयकका सम्बन्धमा महासंघमा कुनै छलफल भएको छैन । अस्तिदेखि परामर्श समितिको बैठक बसिरहेको खबर पाएका छौँ । समितिले विवादित दफाहरू मिलाएर शिक्षा समितिमा लैजान्छ होला । त्यसैले हामी यतिबेला पर्ख र हेरको अवस्थामा छौँ,” थापाले बाह्रखरीसँग भने ।

गत चैत २० गतेदेखि झन्डै एक महिनासम्म महासंघले विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर काठमाडौंकेन्द्रित सडक आन्दोलन गरेको थियो ।

शिक्षामन्त्री रघुजी पन्तले गत वैशाख १७ गते विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र पारित गर्ने प्रतिबद्धतासहित नौबुँदे सहमति गरेका थिए । तर, विधेयकका विवादित विषयमा अझै सहमति जुट्न सकेको छैन ।

 

तपाईको प्रतिक्रिया