Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

काठमाडौं, २८ असार २०८२ । मौसमविद्ले समग्र देशमा वर्षाको सम्भावना शनिबार (असार २८) भन्दा आइतबार र सोमबार बढी रहेको बताएका छन् । आइतबार र सोमबार देशमा पानी पर्ने सम्भावना उस्तैउस्तै रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए ।

शनिबार पनि देशका केही स्थानमा वर्षा भएको छ । योभन्दा आइतबार र सोमबार बढी पानी पर्ने अनुमान छ । “आजभन्दा भोलि र पर्सि वर्षाको सम्भावना बढी छ,” उनले बाह्रखरीसित भने, “वर्षाको सम्भावना सबै प्रदेशमा छ ।”

विशेष गरी पहाडी भूभागमा वर्षाको सम्भावना बढी रहेको उनले जानकारी दिए । “कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ,” उनले भने ।

यो वर्षको मनसुनमा तराई भूभागमा खासै पानी परेको छैन । विशेष गरी मधेस प्रदेशसहित पूर्वी तराईमा सुक्खाजस्तो अवस्था छ । “मधेस प्रदेशमा पनि आगामी तीन दिन वर्षा हुने सम्भावना छ,” उनले भने, “आजभन्दा भोलि र पर्सि अलि बढी सम्भावना छ ।”

अबका तीन दिन अर्थात् आउँदो सोमबारसम्म काठमाडौंमा पनि वर्षाको सम्भावना छ । काठमाडौंमा मध्यमसम्म वर्षाको सम्भावना रहेको उनले बताए । “काठमाडौंमा पनि वर्षाको सम्भावना छ । दिउँसो र राति वर्षाको सम्भावना छ,” उनले भने, “काठमाडौंमा पनि आजभन्दा भोलि र पर्सि वर्षाको सम्भावना बढी छ । मध्यमसम्म वर्षाको सम्भावना छ ।”

हाल देशमा मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास छ । यो रेखा पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर ९नेपालनजिक० रहेको महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा नेपालतिर हुँदा यता वर्षाको सम्भावना बढी हुन्छ ।

महाशाखाले शनिबार बेलुका जारी गरेको मौसम पूर्वानुमान बुलेटिनको ‘आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श’मा उल्लेख छ, “सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ ।”

उक्त परामर्शमा अगाडि भनिएको छ, “सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ ।”

कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।

कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया