Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, १७ माघ । अमेरिकाको ४ राज्यमा अत्यधिक चिसो बढेको छ । ध्रुवीय क्षेत्रबाट आएको बरफयुक्त वायुका कारण चिसो बढेपछि तीन राज्यले आपतकाल घोषणा गरेका छन् ।

चिसो अत्यधिक बढेपछि मध्यपश्चिम क्षेत्रका इलिनोई, मिशिगन र विस्कन्सिन राज्यमा आपतकाल घोषणा गरिएको हो । दक्षिणी राज्य एलाबामा र जोर्जियामा बासिन्दाले पनि चिसोको कहर सहिरहेका छन् । मौसमविद्हरुले त्यहाँ हिमपात हुने भविष्यवाणी गरेका छन् ।

सिकागो नगरमा अन्टार्टिका महादेशमा जस्तै भिसो भइरहेको बताइएको छ । बीबीसीका अनुसार, गएराति त्यहाँको तापक्रम माइनस ३० डिग्री सेल्सियस मापन भएको छ । उत्तरी डाकोटाको तापक्रम माइनस ३७ डिग्री सेल्सियस छ । अत्यधिक चिसोले ताल–तलैया जमेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार, न्यूर्योक र क्यानडाको सीमामा पर्ने नायगरा फल्स बरफमा परिणत भएको छ ।

अत्यधिक चिसोको सामना गर्नेको संख्या २ सय ५० मिलियन छ । ९० मिलियन जनता माइनस १७ डिग्रीको चिसो सहिरहेको बीबीसीको समाचारमा उल्लेख छ ।

चिसो बढेपछि मानिसहरुलाई सतर्कता अपनाउन र घर बाहिर ननिस्कन राज्यका एजेन्सी तथा अधिकारीहरुले उर्दी जारी गरेका छन् ।

पोलार भोर्टेक्स नाम दिइएको यो असरले अहिलेसम्म विभिन्न राज्यमा गरी सात जनाको ज्यान गइसकेको सरकारी अधिकारीहरुले बताएका छन् । हवाई सेवा प्रभावित भएको छ भने विद्यालय तथा सरकारी कार्यालयहरु बन्द गरिएका छन् । रेलका लिग तताउन आगो नै बालिएको बीबीसीले जनाएको छ ।

चिसोको अत्यासलाग्दो कहरमा अमेरिकी राज्य फसेका बेला लुटपाटका घटना भइरहेको सञ्चारमाध्यमहरुले बताएका छन् । बीबीसीका अनुसार, महँगा ज्याकेटहरु लुटेराहरुले बन्दुक देखाउँदै लुटेका छन् ।

इलिनोइस राज्यका मौसमविद् रिकी क्यास्ट्रोले चिसोको इतिहास निर्माण हुन सक्ने बताएका छन् । त्यहाँको नेशनल वेदर सर्भिसले १० मिनेट मात्रै चिसोको संसर्गमा रहँदा शीतदंश हुनसक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया