काठमाडौं, २५ असार २०८२ । कम्पनी रजिस्ट्रारको कार्यालयको सर्भर एक सातादेखि ‘डाउन’ हुँदा हजारौं सेवाग्राही प्रभावित भएका छन् । कम्पनी रजिस्ट्रारको कार्यालयले अनलाइन प्रणालीका लागि नयाँ सफ्टवेयर सुरु गरेदेखि नै समस्या आउने गरेको छ ।
तर, एक सातादेखि भने कम्पनी रजिस्ट्रारको कार्यालयको अनलाइन प्रणाली पूर्णरूपमा डाउन भएको हो । कार्यालयले दिने सेवाहरू सम्पूर्ण रूपमा अनलाइनका माध्यमबाट दिने गरेको छ । तर, आर्थिक वर्ष अन्त्यमा विभिन्न किसिमका दस्तावेज पेश गर्नुपर्नेमा सर्भर नै डाउन भएपछि सेवाग्राही प्रभावित भएका हुन् ।
गत बुधबारदेखि सर्भरमा आएको समस्या अझैसम्म समाधान नभएको कम्पनी रजिस्ट्रारको कार्यालयकै एक अधिकारीले बताए । उक्त सर्भरमा देखिएको समस्या कसरी समाधान गर्ने भन्ने विषयमा पनि कुनै जानकारी नभएको कार्यालयका कर्मचारीहरू बताउँछन् ।
‘सर्भरमा कुनै समस्या छैन’ भन्ने रिपोर्टिङ गरेर चीन गए कम्पनी रजिस्ट्रार गिरी
सर्भरमा समस्या देखिएको भनेर कार्यालयका कर्मचारीहरूले मन्त्रालयका सचिवहरूलाई जानकारी गराएका थिए । तर, कम्पनी रजिस्ट्रार ईश्वरकुमार गिरी भने समस्या समाधान गर्नुको सट्टा चीन भ्रमणमा निस्किएका छन् ।
‘हामीले सर्भरले काम नगरेको हुँदा काम गर्न समस्या पर्यो, सर्भरले काम गरेन भनेर सचिवहरूलाई जानकारी गराएका थियौं,’ सम्बद्ध स्रोतले भन्यो, ‘कम्पनी रजिस्ट्रारज्यूले फेरि सर्भरमा कुनै समस्या नै छैन, सबै कुरा राम्रो छ भनेर सचिवहरूलाई जानकारी दिएर चीन भ्रमणमा निस्कनु भएछ, सर्भरले काम नगर्दा एकदमै समस्या भइरहेको छ ।’
कम्पनी रजिस्ट्रारको कार्यालयले केही समयअघि ‘क्यामिस’ भन्ने सिस्टम लागू गरेको थियो । त्यसभन्दा अगाडि कम्पनी रजिस्ट्रारले ‘एप्लिकेसन डट ओसीआर’ भन्ने सिस्टममा काम गरिरहेको थियो ।
सर्भरका समस्याबारे जानकारी लिँदा कार्यालयका एक अधिकारी सर्भरले काम नगर्दा समस्या झेल्नुपरेको बताउँछन् । ‘सर्भरमा के समस्या भएको हो, घरि चल्ने घरि नचल्ने हुन्छ, समस्या के रहेछ भनेर पत्ता लगाउन सकिएको छैन,’ उनले भने ।
सर्भर बनाउनकै लागि भनेर कार्यालयले डेभलपर भनेर छुट्टै कर्मचारी नियुक्त गरे पनि समस्या भने निरन्तर कायम रहेको उनले बताए ।
‘दुई-तीन जना बसेर दैनिक सर्भरको काम पनि गरिरहेका छन् । तर पनि समस्या समाधान गर्न सकिएको छैन । दिनमा एक घण्टा काम गर्यो भने एक घण्टा डाउन हुन्छ,’ उनले भने ।
पुरानो सर्भरमा पनि काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ । ‘एप्लिकेसन डट ओसीआर’ भन्ने सिस्टमले यसअघि राम्रो काम गरिरहेको भए पनि नयाँ सिस्टम सुरु गरेपछि समस्या आएको ती अधिकारीले बताए ।अनलाइनखबरबाट






