Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

मकवानपुर, १५ माघ । एक समय भनिन्थ्यो बाहुनहरुले बाजा छुनै हुँदैन, बिहेमा बाजा बजाउने त कथित तल्लो जातिले मात्र हो । तर, यो परम्परागत सोच परिवर्तन गर्न मकवानपुरका व्राह्मण समूह नै कस्सिएका छन् ।

लोप हुँदै गएको नौमति बाजाको संरक्षण र सम्वर्द्धनमा मकवानपुरको गढी गाउँपालिका-५ पेटी टोलका व्राह्मण समूह लागेका हुन् ।

नौमती ब्राह्मण बाजा समूहका अगुवा जुनाराज चौलागाईंले बिदेशी संस्कृतीबाट भित्रिएको व्याण्डबाजा भन्दा नेपाली पहिचान झल्किने बाजा सबैले मनपराउने भएकाले यसको संरक्षणमा जुटेको बताए । ‘गाउँघरमा आफैंले नरसिंहा, दमाहा सहितका आवश्यक सामग्रीको व्यवस्था गरेर अभ्यास गर्दै अहिले बैवाहिक कार्यक्रमहरुमा शुल्क लिएर बजाउँदै हिँडेका छौं,’ चौलागाईंले भने ।

गाउँका युवाहरुलाई समेटेर व्यवसायीक रुपमा बाजा बजाउन थालेको समूहका संस्थापक सदस्य कृष्ण घिमिरेले बताए । टोलीमा अहिले २९ देखि ५० वर्ष उमेर समूहका ११ सदस्य रहेका छन् । टोलीले यस वर्ष मात्रै २४ वटा बिहेमा बाजा बजाइसकेको छ । ‘हेटौंडामा मात्र होइन सिन्धुली, चितवन, काठमाडौं र बाराको सिमराबाट पनि बाजा बजाउन बोलाउँछन्,’ उत्साहित हुँदै संस्थापक घिमिरेले भने ।

दमाह, ट्याम्केमा प्रयोग हुने छाला प्रायजसो गोरु, भैंसीको हुने भएकाले सुरुमा परिवारका सदस्यले केही असहज महसुस गरे पनि अहिले कुनै समस्या नरहेको उनीहरु बताउँछन् । यो समूहले दुरीका आधारमा शुल्कको निर्धारण गर्दै काम गरिरहेको छ । अहिले न्युनतम १२ हजारदेखि ४० हजार रुपियाँसम्म लिएर बाजा बजाउँदै हिँडेको टोलीका रामबहादुर थापाले जानकारी दिए ।

स्थापना कालमा जनप्रगती ब्राह्मण नौमती बाजा समूह भनेर सञ्चालन गरिए पनि अहिले समूहलाई चन्द्र सूर्य क्लबमा रुपान्तरण गर्दै संस्थागत गर्न खोजिएको संस्थापक जुनाराज पुडासैनीले बताउँछन् ।

टोलीमा रामबहादुर थापा, कृष्ण घिमिरे, रामकृष्ण पुडासैनी, जुनाराज चौलागाई, उद्धव न्यौपाने, दीपक तिमल्सिना, भरत तिमल्सिना, राम तिमल्सिना, सन्तोष पुडासैनी, लिलाराम सापकोटा, सोमप्रसाद सापकोटा रहेका छन् ।

खासगरी शुभ कर्ममा पञ्चेबाजा र बिहेमा नौमती बाजा बजाउने प्रचलन छ । विगतमा दलित समुदायले बजाउने गरेका यस्ता बाजा उनीहरुको पेशा परिवर्तनसँगै संकटमा परेका छन् । त्यसैले बिभिन्न जिल्लाहरुमा अन्य जातजाति र समुदायकाले पनि यसलाई संरक्षण गर्दै आएका छन् ।

२३ वर्षदेखि नेपाली मौलिक बाजाहरुको संरक्षणमा क्रियाशील रामप्रसाद कँणेल यसलाई सकारात्मक रुपमा लिन्छन् । उनले भने, ‘यो खुसीको कुरा हो, नयाँ पुस्ताले जातको रुपमा होइन, यसलाई मात्र बाजाको रुपमा लिएको छ ।’

तर दमाई समुदायले आफ्नो मौलिक बाजा बजाउन छाडेकोतर्फ भने उनी चिन्ता व्यक्त गर्दछन् । नेपाली लोकबाजा संग्रहालयको अध्यक्षसमेत रहेका कँणेल भन्छन्, ‘लाज छाडेर आफ्ना पिता पुर्खाले बजाउँदै आएको बाजा बजाउनुपर्छ । किनभने पहिले निःशुल्क बजाइने पञ्चेबाजा अहिले क्यासमा परिणत भएको छ ।’

‘पञ्चे बाजा बजाउने समूहले ३० देखि ६० हजार रुपैयाँसम्म लिन्छन्,’ कँडेलले भने, ‘बाजा पैसा कमाउने राम्रो माध्यम हो भन्ने कुरा खेमराज गुरुङको ‘वारि जमुना पारि जमुना’ बोलको गीतले गरेको करोडौंको व्यापार पनि उदाहरण हो । पैसा आउन थालेको बेला बाजा बजाउन छाड्नु चाहिँ गलत छ ।’

यससँगै पञ्चेबाजाको ताल र रागको संरक्षण गर्नेतर्फ सरकारका सम्बद्ध निकायहरु लाग्नुपर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments