Online Bichar
मंगलबार, पौष ०१, २०८२ | Tuesday, December 16, 2025

जेबि खड्का
गौरादह, १ असार २०८२ । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले झापा जिल्ला कार्यसमितिको पहिलो अधिवेशन शनिबार झापाको सुङ्गामा सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि महासंघ केन्द्रीय सचिव काशीनाथ दंगालले अधिवेशनको उद्घाटन गरेका थिए। उद्घाटन गर्दै प्रमुख अतिथि दंगालले सामुदायिक विद्यालयको ऐतिहासिक पृष्ठभूमि, योगदान र आजका चुनौतीबारे जानकारी गराएका थिए । हाम्रा अग्रजहरूको सक्रियतामा बनाइएका सामुदायिक विद्यालयहरू बर्तमान समयमा पनि शिक्षाको ज्योति छर्ने माध्यमको रुपमा रहेका छन। बिद्यालयको संरक्षण र गुणस्तर अभिवृद्धि हामी सबैको साझा दायित्व रहेको बताएका थिए।

अधिवेशनमा झापाका १५ वटै स्थानीय तहका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। प्रदेश अध्यक्ष हरिबहादुर कार्कीले राज्यले सामुदायिक विद्यालयमा गरेको लगानीको वास्तविक प्रतिफल जनस्तरमा अनुभूति गराउन विद्यालय व्यवस्थापनमा सामूहिक दृष्टिकोण आवश्यक रहेको धारणा राखेका थिए।कार्यक्रममा सहभागीहरूले विद्यालयको गुणस्तर सुधारका लागि स्थानीय राजनीतिक नेतृत्व, जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी र शिक्षकमात्र नभई सम्पूर्ण अभिभावकहरूको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राखेका थिए। आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै अध्यापन गराएमा विद्यालय सुधारको काम छिटो र सहज हुने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा कन्काइ नगरपालिका प्रमुख राजेन्द्रप्रसाद पोखरेल, जिल्ला विद्यालय निरीक्षण समिति (जिविस) झापाका सभापति विश्वनाथ बराल, महासंघका सल्लाहकार युवराज बास्कोटा लगायतले शुभकामना मन्तब्य राखेका थिए। सामुदायिक बिद्यालय महासंघ झापा अध्यक्ष बुद्धिमान कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रमको अध्यक्षता गर्दै कार्कीले सामुदायिक विद्यालयको अस्तित्व, गुणस्तर र अभिभावकीय सहभागिता सुनिश्चित गर्न महासंघ अझ सक्रिय ढंगले जिल्लास्तरीय अभियानहरू अघि बढाउने प्रतिबद्धता जनाएका थिए।

 

तपाईको प्रतिक्रिया