बुटवल, २९ जेठ २०८२ । सञ्चारकर्मीहरुको थप क्षमता अभिवृद्धि गर्नका लागि २ दिन सम्म सञ्चालन गरिएको विकास पत्रकारिता तालिम सम्पन्न भएको छ । नेपाल प्रेस युनियन रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा हिँजो र आज गरि दुई दिन सञ्चालन गरिएको विकास पत्रकारिता तालिम आज सम्पन्न भएको हो ।
कालिकानगरको दियालो फुड ल्याण्डमा सम्पन्न भएको तालिमको प्रमुख प्रशिक्षकमा नेपाल पत्रकार महासंघका केन्द्रिय निवर्तमान अध्यक्ष विपुल पोखरेल, युनियनका सल्लाहकार माधव नेपाल, महासंघका केन्द्रिय सदस्य तथा युनियनका पूर्व अध्यक्ष रामराज पोखरेलले प्रशिक्षण दिनुभएको थियो । तालिममा विकास पत्रकारिता भनेको के हो ? विकास पत्रकारिता किन गर्ने?, विकास पत्रकारितामा स्थानीय सवाल लगायतका विषयहरुमा प्रशिक्षण दिइएकोथियो ।
त्यस अवसरमा लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका अग्रज पत्रकारहरु, युनियनका केन्द्रिय सदस्य रेखा भुसाल लगायतले आफ्नो अनुभवहरु सुनाउनु भएको थियो । सो अवसरमा नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, संस्थापक अध्यक्ष बालनरसिंह गुरुङ, पत्रकार महासंघ प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्य, महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, प्रेस चौतारीका अध्यक्ष भगवती पाण्डे, समाजवादी प्रेस संगठनका अध्यक्ष विनोद परियार, युनियनका उपाध्यक्ष कल्पना तिवारी लगायतको उपस्थित रहेको थियो ।














