Online Bichar
मंगलबार, आश्विन ०६, २०८३ | Tuesday, September 22, 2026

झापा, १९ जेठ २०८२ । झापामा आईतबार (हिँजो) राती अविरल वर्षा संगै आएको हावाहुरीले दमकमा ठूलो क्षति भएको छ । अविरल वर्षासँगै आएको हावाहुरीले दमक नगरपालिका-९ स्थितमा बन्द अवस्थामा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको भवनको अगाडीको सम्पूर्ण सिसा फुटी झर्दा सोही भवन अगाडी पार्क गरी राखेको मे १ ज २०३० नम्बरको बोलेरो गाडीको अगाडीको सिसा फुटेको छ । बोलेरोको अगाडीको बनोटसमेत कुच्चिएर क्षति भएको छ । सोही भवनको माथि लगाएको ट्रस समेत हावाले उडाई सोही स्थानमा बस्ने कमला पोखरेल (भट्टराई) ले संचालन गरेको दाजुभाई पसलको छानोमा ट्रस झरी क्षति पुगेको छ । घटनाको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले झापाले जनाएको छ ।

यस्तै, हावाहुरीसंगै आएको पानीले दमक नगरपालिका-४ अडियामलमा स्थित अडियामलबाट आम्दा अस्पताल निस्कने भित्री सडकखण्डमा रहेको ७ वटा बिजुलीको पोल ढलेर बाटो अवरोध भएको छ । बाटो अवरोध भएसंगै बिजुलीको लाइन काटिएको छ । उक्त घट्ना सम्बन्धमा इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिनुका साथै विद्युत कार्यालय, जनप्रतिनिधि समेतलाई जानकारी गराई बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया