Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

म विकल्परहित मुख्यमन्त्रीको उम्मेदवार हुँ

नेकपा एमालेका नेता शेरधन राईले अबको दुई हप्ताभित्रै केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन हुने दाबी गरेका छन्।

उनले भने,‘वाम गठबन्धनले सरकार बनाउने गृहकार्य सुरू गरिसकेको छ, हामी साना दलहरूलाई समेत समेट्न गरि गृहकार्यमा जुटेका छौं, अबको दुई हप्ताभित्र नयाँ सरकार बन्छ।’

सोमबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै भोजपुरबाट प्रदेशसभामा निर्वा्चित सांसद समेत रहेका नेता राईले अबको सरकारको नेतृत्व कसले गर्छ? भन्ने प्रश्न नै अब सान्दर्भिक नरहेको जिकिर गरे। ‘सरकारको नेतृत्व कसले गर्छ? भन्ने प्रश्न अब प्रश्न रहेन, दुनियाँलाई थाहा भएको कुरा हो नि, यो त चुनावअघि नै अनुमान गरेको, बुझेको कुरा हो नि, यसमा अब कुनै विवाद, शंका वा द्विविधा भन्ने कुरा छैन, हाम्रो पार्टीका आदरणीय अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नुहुन्छ।’

साक्षात्कारमा बोल्दै उनले पार्टी एकताको कारणले सरकार गठनमा कुनै ढिलाइ नहुने समेत जिकिर गरे। उनले भने,‘तत्काल पार्टी एकता हुँदैन, अहिले हाम्रो ध्यान सरकार गठनमा केन्द्रीत छ, सरकार गठनको काम टुंगोमा पुगिसकेपछि हामी एकता प्रक्रियाको लागि जुट्छौं, त्यसैले सरकार गठन पूर्व पार्टी एकता नहुन पनि सक्छ।’

यद्यपी नेता राईले जनताले पार्टी एकताको लागि जनमत दिएको उल्लेख गर्दै पार्टी एकता पनि तत्काल सुरू हुने विश्वास दिलाए। उनले भने,‘को कहाँ बस्ने ? वा नेताहरूको व्यवस्थापन भन्ने कुरा यो नितान्त प्राविधिक विषय हो, यसलाई हामी बडो ईमानदारीपूर्वक र समझदारीपूर्वक टुग्याउछौँ।’

उनले सरकारको नेतृत्व एमाले र माओवादी केन्द्रबीच आलोपालो भन्ने विषयमा अहिले कुनै निष्कर्ष ननिस्किएको समेत स्पष्ट पारे। राईले भने,‘आलोपालोको विषयमा पनि छलफल चलिरहेको छ, अहिले नै यही हुन्छ भन्न सकिने अवस्था छैन।’

हालै सम्पन्न भएको निर्वाचनलाई ऐतिहासिक निर्वाचनको संज्ञा दिँदै उनले भने,‘वामगठबन्धनको पक्षमा जनताले आफ्नो अभिमत जाहेर गरेका छन्। यो परिणामलाई म स्वाभाविक ठान्छु। यसकारण कि हामीले यसपटक नेपाल राष्ट्र र नेपाली जनतालाई स्थिर र बलियो सरकार दिने कुरा गरेका छौँ। देशलाई, नेपाली जनतालाई स्थायी शान्ति, राजनीतिक स्थायित्व, सुशासनको बाटोमा लाने र जनताको विकास, समृद्धि र सम्पन्नता प्राप्त गर्ने चाहनालाई तीव्र गतिमा अगाडि बढाउने कुरा गरेका छौँ।’

तपाईं प्रदेश नम्बर १ को मुख्यमन्त्री बन्ने कुरा पनि छ नि ? भन्ने प्रश्नमा उनले भने,‘हो, म प्रदेश नं १ को मुख्यमन्त्रीको बलियो दाबेदार हुँ। म केन्द्रीय प्रतिनिधिसभा र संविधानसभामा दुईपटक जितेर संसद्मा महत्वपूर्ण भूमिका खेलिसकेको, संसद्को सुशासन तथा अनुगमन समितिजस्तो महत्वपूर्ण समितिको सभापति समेतको जिम्मेवारी सफलतापूर्वक सम्हालिसकेको, त्यतिमात्र होइन संविधानसभाबाट संविधान जारी भएपश्चात् बनेको लोकप्रिय, सफल र ऐतिहासिक सरकारको प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री समेतको जिम्मेवारी सफलतापूर्वक सम्हालेर एउटा सफल मन्त्रीका रूपमा उत्रिसकेको, नेकपा एमालेजस्तो लोकप्रिय र शक्तिशाली पार्टीको पोलिटब्युरो सदस्य एवं प्रदेश नं १ को सहसंयोजकको हैसियतमा जिम्मेवारी लिएर काम गरिरहेको व्यक्ति प्रदेशसभा सदस्यमा चुनाव लडेर भारी मतले निर्वा्चित भएको छु ।’

उनले आफूलाई भावी मुख्यमन्त्रीका रूपमा हेरिनु बिल्कुल स्वाभाविक भएको स्पष्ट पार्दै भने,‘म आफैँमा बलियो इच्छाशक्ति भएको, काम गर्न सकिन्छ र सक्छु भन्ने दृढ भावना र संकल्प बोकेको, कुनै लोभ र स्वार्थ मनमा नभएको एक स्वच्छ एवं निष्कलंकित राजनीतिकर्मी र जनप्रतिनिधि हुँ त्यसैले प्रदेशको भूगोल, त्यसभित्रको सबै विविधता र सन्तुलनको अवस्था र सबै संवेदनशीलताको आधारमा म नै विकल्परहित मुख्यमन्त्रीको उम्मेदवार हुँ  ।’

तपाईको प्रतिक्रिया