Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

कमल नेपाल
बाँके, ८ माघ  । खजुराकी लक्ष्मीकुमारी केसीले एक महिनाअघि सहुलियत व्याजको ऋण लिन राष्ट्रिय वाणिज्य बैंकमा आवेदन दिइन्।

महिलालाई व्यवसाय गर्न सस्तो व्याजमा ऋण पाइने थाहा पाएपछि उनले आफूले सञ्चालन गर्दै आएको लक्ष्मी टेलर्स एन्ड ब्युटीपार्लरमै लगानी थप्ने निधो गरेकी हुन्।

आवेदन दिएको केही सातामै उनको आठ लाख रुपैयाँ ऋण स्वीकृत भयो। उक्त रकमबाट अन्य महिलाहरूलाई सिलाइबुनाइ तथा ब्यूटीपार्लरको काम सिकाउने उनको योजना छ।

‘सिलाइकटाइका मेसिन थपेर अरूलाई तालिम दिने सोच छ,’ उनले भनिन्, ‘ब्युटीपार्लरलाई पनि स्तरीय बनाएर तालिम दिने लक्ष्य छ।’

लक्ष्मीले यो व्यवसाय थालेको तीन वर्ष भयो। त्यसअघि श्रीमानसँगै जापानमा १४ महिना काम गरेकी थिइन्। अब दुवै जना मिलेर यही व्यवसाय अघि बढाउने उनीहरूको योजना छ।

लक्ष्मीजस्तै सहुलियत ऋण पाउने अर्की महिला उद्यमी हुन्, धनगढी उपमहानगरपालिका–३ की अनिता केसी।

एउटा भैंसी पालेर दूध व्यवसाय सुरु गरेकी उनी अहिले दैनिक ३ सय लिटर दूध बेच्छिन्। उनीसँग १५ वटा मुर्रा भैंसी र २० वटा उन्नत जातका गाई छन्।

आफूले उत्पादन गरेको दूध बेच्न अनिताले डेरी पसल सञ्चालन गरेकी छन्। सस्तो व्याजमा १० लाख ऋण लिएर गाईभैंसी थप्ने उनको योजना छ।

‘दस लाख रुपैयाँबाट ६र७ वटा मुर्रा भैंसी थपेर दूध उत्पादन बढाउने विचार गरेकी छु,’ उनले भनिन्, ‘हाल दैनिक ३ सय लिटर दूध बेच्दै आएकी छु, सबै दूध डेरीबाटै खपत हुन्छ, बाहिर पठाउने गरेकी छैन।’

आफूले उत्पादन गरेको दूध आफैंले बेच्दा राम्रो मूल्य पाइने र उपभोक्तालाई पनि मार नपर्ने हुँदा डेरी पसल सञ्चालन गरेको उनले बताइन्।

उन्नत रूपमा कृषि व्यवसाय गरेकी अनिता क्षेत्रगत र जिल्लागत गरी दुईपटकसम्म राष्ट्रपति महिला उद्यमी पुरस्कारबाट सम्मानित भइसकेकी छन्। गाईभैंसी र गोठका लागि डेढ करोडभन्दा बढी लगानी गरिसकेको उनले बताइन्। यसैबाट दुई छोराछोरीलाई बोर्डिङ स्कुल पढाएकी छन्।

तीन वर्ष मलेसिया बसेर आएका उनका श्रीमानले गाईभैंसी पालनमा सघाउने गरेका छन्। ‘अहिले हामी दुवै मिलेर दूध उत्पादन र बिक्रीवितरण गर्दै आएका छौं,’ उनले भनिन्।

सिलाइकटाइ, ब्युटीपार्लर र कृषि व्यवसायका लागि मात्र होइन, किराना तथा चिया पसल सञ्चालन गर्न पनि सहुलियत ब्याजमा ऋण लिनेहरू छन्।

नेपालगन्जको कालिकानगर ९कोहलपुर सडक० मा सीताकुमारी शाहीले यही ऋणबाट किराना पसल थालेकी छन्।

उनले पसल थालेको एक साता मात्रै भयो। ‘पञ्चकोसी किराना एन्ड खुद्रा पसल’ सञ्चालन गरेकी उनको व्यापार बढ्दै गएको छ।

‘व्यापार एकदमै राम्रो हुन थालेको छ, अब विस्तारै ऋण तिर्दै जाने हो,’ उनले भनिन्।

शिक्षण पेसामा रहेका उनका श्रीमान टर्कबहादुर शाहीले पनि पसलको काममा सघाइदिने गरेका छन्। ‘दुवै जनाको कमाइ हुँदा घरखर्च चलाउन सजिलो भएको छ,’ उनले भनिन्, ‘दुई जना बच्चाबच्चीलाई राम्ररी पढाउन सकेका छौं।’

राष्ट्रिय वाणिज्य बैंकबाट सहुलियत व्याजमा महिला उद्यमशील ऋण लिनेको संख्या एक दर्जन पुगेको छ। आवेदन धमाधम परेका छन्। यसबारे सोधपुछ गर्न आउनेहरू पनि प्रशस्तै छन्।

‘अधिकांश महिलाले टेलरिङ, ब्यूटीपार्लर, सिलाइबुनाइ र चिया तथा खाजा पसल सञ्चालन गर्न ऋण माग गर्ने गरेका छन्,’ बैंकका सहायक म्यानेजर राजन घिमिरेले भने।

महिलाहरूले प्रक्रिया पूरा गरी बैंकका जुनसुकै शाखाबाट आवेदन दिन सक्ने र उक्त आवेदन केन्द्रमा आइपुगेपछि केन्द्रबाटै ऋण स्वीकृत हुने उनले बताए।

‘हामीले स्वीकृत गरेपछि शाखाबाटै ऋण लिन सकिन्छ, उद्यम गर्न चाहनेलाई यो ऋण गतिलो भर्‍याङ बन्ने छ,’ उनले भने।

ऋणका लागि आवेदन आएका थप २ दर्जन फाइल अध्ययन भइरहेको उनले बताए।

महिलाहरू घरायसी काममा मात्र सीमित नहोऊन् र उनीहरू उद्यमतर्फ पनि आकर्षित होऊन् भन्ने उद्देश्यले सरकारले महिला उद्यमशील कर्जा योजना ल्याएको हो।

राष्ट्रिय वाणिज्य बैंकबाट यस्तो कर्जा लिँदा व्याजदर साढे २ प्रतिशत हाराहारी पर्छ।

आधार व्याजदरमा २ प्रतिशत थप्दा जति व्याज पर्छ, त्यसमा ६ प्रतिशत सरकारले नै तिरिदिने व्यवस्था छ। राष्ट्रिय वाणिज्य बैंकको आधार व्याजदर ६।३३ प्रतिशत हो।

व्यवसाय थालेपछि किस्ताबन्दीमा ऋण भुक्तानी गर्ने सुविधा छ। यो योजनाअन्तर्गत महिलाहरूले १५ लाख रुपैयाँसम्म ऋण लिन सक्छन्। ऋण लिएबापत धितो राख्नु पर्दैन। जुन व्यवसाय थाल्ने हो, त्यो व्यवसाय नै धितोका रूपमा रहन्छ।

कसरी लिने यस्तो ऋण?

यस्तो ऋण लिन सबभन्दा पहिला फर्म वा कम्पनी दर्ता गर्नुपर्छ। आन्तरिक राजस्व कार्यालयमा दर्ता भएको प्यान नम्बर लिनुपर्छ।

त्यसपछि कम आधार व्याजदर भएको बैंक छानेर नजिकको शाखामा गई आवेदन दिन सकिन्छ। महिला उद्यमशील कर्जा मागको आवेदन बैंकले उपलब्ध गराउँछ।

आवेदनका साथै आफूले गर्ने व्यवसायको सम्पूर्ण विवरण बैंकले उपलब्ध गराएको परियोजनाको ढाँचामा भर्नुपर्छ। आफू र परिवारका सदस्यको नागरिकता प्रमाणपत्रको प्रतिलिपि पनि चाहिन्छ।

बैंकको शाखाले ऋण दिन नमानेमा वा प्रक्रियाबारे बुझाउन नचाहेमा उजुरीसमेत गर्न सकिने व्यवस्था छ। राष्ट्र बैंकको क्षेत्रीय कार्यालय वा प्रमुख कार्यालयको फोन नम्बर ०१– ४४११४०७ मा फोन गरी वा इमेल नगलबकय२लचद।यचन।लउ मा उजुरी गर्न सकिन्छ।

कस्ता–कस्ता कामका लागि पाइन्छ ऋण?

सिलाईबुनाई, पेन्टिङसम्बन्धी काम, राडीपाखी, ऊनी तथा गलैंचा बनाउने उद्योग खोल्न यस्तो ऋण पाइन्छ। हस्तकला व्यवसाय गर्न, सुनचाँदी, तामा, पित्तलसम्बन्धीका कामका लागि पनि ऋण पाइन्छ।

त्यस्तै, सेरामिक्स, पुतली तथा खेलौनासम्बन्धी व्यवसाय, धुपबत्ती बनाउने, चित्रकला तथा कागजका काम गर्न चाहनेले पनि यो ऋण लिन सक्छन्। चिया तथा खाजा पसल सञ्चालन गर्न, टेम्पो वा ट्याक्सीका लागि, ठेलागाडा, स्टेसनरी तथा साइबर सञ्चालन गर्न ऋण पाइन्छ।

यीबाहेक सबै कृषि कामका लागि महिलाहरूले यस्तो ऋण लिन सक्छन्। खाद्यान्न तथा अन्नबाली उत्पादनका लागि पनि ऋण सुविधा छ। चिया, अलैँची, नरिवल, कपास, अल्लो, अदुवा, रबर, उखु, मरिच, बेसारजस्ता नगदेबाली गर्नेले ऋण लिन पाउँछन्।

लसुन, प्याज, काउली, बन्दा, कुरिलो, भेन्टा, ब्रोकाउली, गोलभेडा, खुर्सानी, पिँडालु, मुला, गाजर, तरुल, घिरौंलाजस्ता तरकारी खेतीका लागि पनि ऋण पाइन्छ।

आँप, सुन्तला, स्याउ, अनार, अम्बा, कागती, केरा, लप्सी, लिची, मेवाजस्ता फलफूल खेतीका लागि ऋण लिन सकिन्छ।

यीबाहेक गाई, गोरु, भैंसी, बाख्रा, कुखुरा, मौरीपालनका लागि ऋण लिन सकिन्छ। मत्स्यपालन, बंगुरपालन, रेशमकिरा पालनका लागि पनि बैंकले सस्तो व्याजमा ऋण दिन्छ।

सेतोपाटीबाट

तपाईको प्रतिक्रिया